चतरा : सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी सुनसरी स्थित वराहक्षेत्र मन्दिर आउने भएकी छिन् । माघ १ गते मकर सङ्क्रान्तिको दिन वराहक्षेत्र दर्शन गर्न राष्ट्रपति भण्डारी वराहक्षेत्र मन्दिर आउने कार्यक्रम रहेको छ ।
वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका अनुसार नगरपालिकाको वडा नं. १ स्थित प्रसिद्ध धार्मिक स्थल वराहक्षेत्र मन्दिरमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारी आइतबार ११ बजे मन्दिर आउने कार्यक्रम छ । 
माघ १ गते वराहक्षेत्र धाम स्थित कोका कौशिकीको सङ्गममा स्नान गर्ने र मेला लाग्ने गर्दछ । सोही अवसरमा राष्ट्रपति भण्डारी वराहक्षेत्र आउन लाग्नु भएको नगर प्रमुख कार्कीले बताए । राष्ट्रपति भण्डारी वराहक्षेत्र आउने भएसँगै तिनै तहको सुरक्षा संयन्त्र सँग समन्वय  भइरहेको र आवश्यक तयारी समेत पूरा भइसकेको नगर प्रमुख कार्कीले बताए ।  
राष्ट्रपति भण्डारीले मेलाको अवलोकन, वराहक्षेत्र मन्दिरमा विशेष पूजा लगायत अन्य धार्मिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।