सुनसरी : प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगितामा प्रदेश १ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् । 

इटहरीमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ । मधेस प्रदेशले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश १ ले ११ दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो । 

प्रदेश १ को जितमा काजल श्रेष्ठ र रुविना क्षेत्रीको ओपनिङ जोडीले जीतको बलियो आधार तयार पारेका थिए । काजलले ४२ बलमा चार चौकाको मद्दतले २४ रन बनाउँदा रुविनाले २७  बलमा २ चौकाको मद्दतले २१ रनको नटआउट पारि खेलिन । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ४९ रन बनायो । 

मधेसलाई सस्तैमा समेट्न प्लेयर अफ द म्याच सबनम राईले चार विकेट लिइन । रुविना क्षेत्री र निशा शाहले दुई दुई विकेट लिँदा ज्योति दनुवार र एलिसा खडियाले एक-एक विकेट लिइन । मधेसका लागि सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने ५ खेलाडीले डग आउट भए ।

आजै भएको दोस्रो खेलमा युवा अलराउन्डर कविता कुवरको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३३ रनले हराएको छ। टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय २७ रन बनायो । 

सुदूरकी कविता कुँवरले ५२ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेलिन । यस्तै ऋतु कनोजिया २१ बलमा चार चौका सहित २७ रनमा अविजित रहिन् । कप्तान विन्दु रावल र सम्झना खड्काले १०-१० रन बनाए । रुबी पोद्दार ८, शोभा रोकाया २ र कविता जोशीले ७ रन बनाए । बागमतीकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले चार ओभरमा ११ रन खर्चेर २ विकेट लिइन । यशु पाण्डे, खुसी डंगेला र मनीषा उपाध्यायले एक एक विकेट लिए । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनायो । 

बागमतीकी कन्चन श्रेष्ठले २१ बलमा १ चौका सहित सर्वाधिक १६ रन बनाइन । ओपनर अस्मिता खरेल ३, सोनी पाख्रिन १५, हेलिसा गुरुङ ९, अश्मिना कर्माचार्य १३ र खुसी डङ्गोलले १४ रन बनाए । सुदूरका ऋतु कनोजियाले चार ओभरमा १० रन खर्चेर २ विकेट लिइन । मनीषा उपाध्यायले चार ओभरमा २० रन खर्चेर २ विकेट लिइन ।