धरान : हिमानी ट्रष्टकी अध्यक्ष पूर्व राजपरिवारकी युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहको प्रमुख अतिथि रहेको कार्यक्रमका बिच शुक्रवार धरान स्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहित छात्रवृत्ति प्रदान गरिएको छ । 
लायन्स क्लब अफ धरान पञ्चकन्याको 'शिक्षाको लागि एक रुपैयाँ' अभियानबाट सङ्कलित रकमले छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान गरिएको हो । उक्त अवसरमा प्रमुख अतिथि शाहले ज्ञानचक्षुका विद्यार्थीहरूलाई सेतो छडी र स्कुल ब्याग वितरण गरिन् । 
साथै पूर्वाञ्चल बहिरा विद्यालय धरान-१६ का विद्यार्थीहरूलाई कानमा सुन्ने उपकरण, कक्षा ७ र ८ का सबै विद्यार्थीलाई एक वर्षको लागि स्कुल युनिफर्म, खेलकुद ड्रेस, शैक्षिक सामाग्री, खेलकुद सामाग्रीहरू हस्तान्तरण गरिन् । यसै बिच शिक्षाको लागि एक रुपैयाँ कार्यक्रम लायन्स क्लब अफ धरान पञ्चकन्या र पूर्वाञ्चल बहिरा विद्यालय बिच सम्झौतामा हस्ताक्षर गरिएको छ । 
सोही अवसरमा कक्षा ११ र १२ का कलेज पढ्ने विपन्न, जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति, कापी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । पञ्चकन्या मावि धरान-१७ सुकुम्वासी बस्तीका विद्यार्थीहरूलाई कापी तथा शैक्षिक सामाग्री र ब्यालेङ्केट वितरण गरिएको हो । विपन्न वर्ग, एकल महिला, शारीरिक  अपाङ्गता भएका व्यक्तिहरूलाई ब्ल्याङकेट वितरण गरिएको छ । 
सोही अवसरमा हिमानी ट्रस्टबाट टङ्क मावि भीरगाउँ धनकुटाका प्रधानाध्यापक नरबहादुर विश्वकर्मा, जनहित आधारभूत विद्यालय, सुनसरी मधेशा गाविस-६ का वडा अध्यक्ष सुमन थापा, शिशु विकासिनी आधारभूत विद्यालय, पूर्वाञ्चल बहिरा विद्यालय, पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय र सुकुम्वासी बस्तीका सरकारी विद्यालयका विद्यार्थीलाई ७०० थान पानी आफैँ प्रशोधन हुने बोतल वितरण गरिएको छ ।
कार्यक्रममा पूर्वाञ्चल ज्ञान विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रधानाध्यापक प्रमोद भण्डारी, सपन इन्द्रत्री (राजन), डिस्ट्रिक्ट गभर्नर लायन धिरज गुरुङले मन्तव्य प्रकट गरेका थिए । लायन्स क्लब अफ धरान पञ्चकन्या सचिव लायन शुभना गुरुङले धन्यवाद ज्ञापन गरिन् । कार्यक्रमको समापन अध्यक्ष नयन एकता श्रेष्ठले गरिन् । सरस्वती मन्दिरमा पूजा गरी वृक्षारोपण गर्दै कार्यक्रम उद्घाटन गरिएको थियो ।
himani-trust-dharan-1
himani-trust-dharan-3