धरान : महिला सञ्जालको नाम लिँदै विभिन्न घटनामा आफू महिला अधिकारकर्मी बताउँदै पैसाको बार्गेनिङ गर्ने गरेको आरोप लागकी शान्ता खड्का पक्राउ परेकी छिन् । 

उनलाई उनकै निवास धरान-१४ विजयपुरबाट अहिले बिहान इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले पक्राउ गरेको हो । 

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिको परिवारसँग मुद्दा मिलाइदिने भन्दै बार्गेनिङ गरेको आरोपमा शान्ता खड्का विरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएकी थिइन ।

आफूलाई महिला अधिकारकर्मी भन्दै धरान-१४ मा बस्ने खड्काले विभिन्न घटना मिलाइदिने भन्दै बार्गेनिङ गर्ने गरेको आरोप लाग्दै आएको थियो । उनले महिला सञ्जालको नाम लिएर पीडित महिलालाई न्याय दिलाउने नाममा पीडक पक्षसँग पैसाको बार्गेनिङ गर्ने गरेको प्रमाणहरू पछिल्लो समय सार्वजनिक भएको थियो । सोही क्रममा महिला सञ्जाल धरानले खडकालाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

धरान-१७ मा बस्दै आएका एक व्यक्ति खड्काको समेत संलग्नतामा बलात्कार आरोपमा थुनामा छन् । उनलाई थुनामुक्त गराउन साक्षी बसेकालाई बयान फेर्न लगाउने भन्दै ती व्यक्तिको श्रीमतीसँग खड्काले १० लाख बार्गेनिङ गरेकी थिइन् । पछि साढे ३ लाख मागेर दैनिक जसो फोन गर्ने गरेका थिइन् । सोही क्रममा ती महिलाको मृत्यु भएपछि उनको आफन्तजनले खड्का विरुद्ध प्रहरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले खड्का विरुद्ध ठगी मुद्दा दर्ता भएको र पक्राउ पुर्जी जारी भएकोले आज बिहान खड्कालाई उनकै घरबाट प्रहरीले पक्राउ गर्न सफल भएको जानकारी दिए ।