धरान : राष्ट्रपति विद्यादेवी भण्डारी भोलि माघ १ गते सङ्क्रान्तिको दिन धरान आउने भएकी छन् । 
धरानमा राष्ट्रपतिद्वारा विजयपुर स्थित धार्मिकस्थलहरुको दर्शन एवं पूजा अर्चना गरिने कार्यक्रम रहेको इलाका प्रशासन कार्यालय धरानका प्रमुख चूडाराज भट्टराईले जानकारी दिए। 
राष्ट्रपति भण्डारी दिनको १२ बजे धरानको फुस्रेमा रहेको नेपाली सेनाको हेलिप्याडमा अवतरण गर्ने र त्यहाँबाट सिधै पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा मन्दिरको दर्शन अवलोकन गरिने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।
धरानको धार्मिक एवं पर्यटकीय क्षेत्रको अवलोकन गर्न राष्ट्रपतिको भ्रमण हुन लागेको हो । यसअघि राष्ट्रपति भण्डारीले वराहक्षेत्र मन्दिरको दर्शन अवलोकन गर्ने कार्यक्रम छ ।
धरान आउनु अघि ११ बजे मकर सङ्क्रान्तिको दिन वराहक्षेत्र मन्दिरमा विशेष पूजामा राष्ट्रपति भण्डारी सहभागी हुने बताइएको छ । राष्ट्रपतिले आइतबार बिहान वराहक्षेत्र धाम स्थित कोकाहा-सप्तको संगमस्थलमा लाग्ने मकर मेला र मकर स्नानको अवलोकन गर्ने वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।