सुनसरी : राष्ट्रपति विद्यादेवी भण्डारीको धरान भ्रमणका अवसरमा औपचारिक स्वागत कार्यक्रम तय गर्न बसेको सुरक्षा समितिको बैठकमा मेयर हर्क साम्पाङ तथा उपमेयर आइन्द्रविक्रम वेघा दुवै अनुपस्थित रहे । बैठक शनिवार धरान उपमहानगरपालिका बैठक कक्षमा बसेको थियो ।
राष्ट्रपति भण्डारी वराहक्षेत्रबाट धरान आउने कार्यक्रम छ । सोही कार्यक्रमको तयारीका लागि शनिवार  बिहान ९ बजे उपमहानगरपालिका कार्यपालिका बैठक कक्षमा सुरक्षा समितिको बैठक हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संयोजकत्वमा बसेको बैठक ३ घण्टा सम्म चलेको थियो ।
तर, मेयर तथा उपमेयर दुवै वा दुई मध्ये एक जना पनि बैठकमा उपस्थित भएनन् । बैठकमा उपस्थित भएर मुलुकको राष्ट्र प्रमुखको आगमनलाई धरानको लागि उपलब्धि मूलक बनाउने कार्यक्रम तर्जुमा गर्न सकिने अवसर स्थानिय सरकारका प्रमुख तथा उपप्रमुखको उपस्थितिले गुमेको छ । 
मेयर तथा उपमेयरले बैठकमा अनुपस्थित हुने औपचारिक रूपमा कुनै जानकारी नदिएको बुझिएको छ। राष्ट्रप्रमुख नगर क्षेत्रमा आउँदा स्थानीय सरकारको कर्तव्य र भूमिका उनीहरूको अनुपस्थितिले उपेक्षा गरिएको गरिएको देखिएको छ । 
प्रमुख जिल्ला अधिकारी यादवले उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत उद्धव प्रसाद रिजाललाई सम्पर्क गरी उक्त बैठकबारे जानकारी गराएको बताइएको छ। रिजालले मेयर हर्क साम्पाङ लाई जानकारी गराएको बताए पनि मेयर बैठकमा उपस्थित भएनन् । आज १२ देखि १ बजे सम्म राष्ट्रपति भण्डारीले धरानको दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ । 
धरान-१४ का वडा अध्यक्ष कृष्ण भट्टराईले सुरक्षा बैठकमा मेयर, उपमेयर अनुपस्थित भएको बारे  आफूलाई कुनै जानकारी नभएको बताउँछन् । उनले सुरक्षा समितिको बैठकमा वडाले गर्ने कार्यबारे बताइएकोमा सो अनुसार दायित्व पुरा गर्ने जानकारी दिए । उनले भने ‘उपमहानगरपालिकाले राष्ट्रप्रमुखबाट विकास निर्माणको शिलान्यास, थालनी गराएर यहाँको समस्याहरूको जानकारी गराए राम्रो हुन्थ्यो।’ 
प्रजिअ यादव अनुसार बैठकमा उपमहानगरपालिका कार्यकारी अधिकृत रिजालले मेयर र उपमेयर दुवै व्यस्त भएको जानकारी पाएको बताए । यादवले भने ‘तत्काल माथिबाट कार्यक्रमबारे जानकारी आयो, छिटै बैठक बसेर सुरक्षालाई चुस्तदुस्त राख्न त्यस तर्फ केन्द्रित भैयो ।’ राष्ट्रप्रमुख आउने कार्यक्रममा सबैको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले भने ‘उहाँहरू (मेयर र उपमेयर) विजयपुरमा हुने कार्यक्रममा सहभागी हुने जानकारी पाएको छु ।’  
यता धरान उपमहानगर उपप्रमुख अइन्द्र बिक्रम बेघाले भने उक्त कार्यक्रमबारे औपचारिक जानकारी नभएको बताउँदै जवाफ दिन अस्वीकार गरे । यसबाट नगरमा हुने सामान्य कामको बारेमा पनि जानकारी हुनुपर्ने स्थानीय सरकार राष्ट्र प्रमुख नगरमा आउँदा पनि अनभिज्ञ रहेको हो कि जस्तो देखिएको छ ।