धरान : सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पोखरामा भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिप्रति शोक मनाउन सरकारले भोलि बिदा दिन लागेको प्रवक्ता विष्णु पौडेलले जानकारी दिए । बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले बताए।

काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए। ६८ यात्रुमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १-१ जना गरी १५ जना विदेशी नागरिक रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।  

नागरिक उड्डयन प्राधिकरणका अनुसार सिनियर पाइलट कमल केसीले उडाएको जहाजमा को पाइलट अन्जु खतिवडा थिइन्। यस्तै जहाजमा सृजना होङचुन र ओसिन आलेमगर एयर होस्टेज थिइन्।

पोखराको सीताराम हाउजीङ नजिक सेती नदीको खोचमा जहाज ढलपल गर्दै खसेको थियो।

अहिले दुर्घटनास्थलमा आगो निभाएर यात्रुको उद्धार भइरहेको छ। जहाजमा लागेको आगो नियन्त्रणमा लिएर उद्धारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी घटनास्थलमा छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाबारे जानकारी लिएका थिए।