धरान : काठमाडौँ-पोखरा उडानमा रहेको नाइनएन एटिआर-७२ जहाज अवतरणको क्रममा हिजो पोखरामा भएको दुर्घटनामा ७२ जना सहित नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएकोमा महासङ्घले आज सोमवार देखी १३ दिन सम्म शोक मनाउँदै छ ।

महासङ्घका केन्द्रीय, प्रदेश, जिल्ला सबै कार्यालयहरू बन्द गरी १३ दिन सम्म शोक सभा बाहेक अन्य कुनै पनि औपचारिक कार्यक्रम नगरी शोक मनाउने भएको हो । तेह्र दिन सम्म महासङ्घको कार्यालयमा  शोक पुस्तिका राखिने निर्णय अनुसार सुनसरीमा धरान-१३ अमर हाट स्थित पत्रकार महासङ्घको कार्यालयमा शोक पुस्तिका राखिएको छ ।  

दुर्घटनामा निधन भएका महासंघ केन्द्रीय सदस्य ३७ वर्षीय पौडेल पोखराबाट प्रकाशित हुने 'हटलाइन' दैनिकका प्रकाशक/सम्पादक थिए । उनले अन्नपूर्ण एफएम र नेपाल टेलिभिजनमा रहेर पनि पत्रकारिता गरेका थिए । पत्रकार महासङ्घको २६ औं महाधिवेशनबाट पौडेल केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 

उनी महासङ्घको गण्डकी प्रदेश समितिका पहिलो अध्यक्ष, कास्की शाखाका उपाध्यक्ष तथा त्यसअघि दुई पटक शाखा सचिव रहेर महासङ्घमा संलग्न थिए । महासंघ केन्द्रीय कार्यालयले शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा निधन भएका पौडेल सहित सबैको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ ।