चतरा : वराहक्षेत्र वडा नम्बर पाँचमा हात्तीको आक्रमणबाट अन्दाजी ७० वर्षीय वृद्धको मृत्यु भएको छ । मङ्गलवार बिहान ११ बजे जङ्गलमा घाँस काट्न गएका सिमरवना माझी टोलका ७० वर्षीय धनबहादुर माझीको मृत्यु भएको हो । 

सिमरवना स्थित जनजागृति सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत वन भित्र घाँस काट्न भएका माझीलाई आक्रमण गरेको थियो । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

मृत्यु भएका माझीको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर  पोष्टमाटमका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । केही दिन यता जङ्गली हात्तीले स्थानीयको अन्नबाली खाइदिने तथा घर भत्काउँदै आएको छ ।