धरान : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन,नेपाल एन प्याव्सनद्वारा आयोजित अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा धरान मेघा, लोटस, सियोन र पर्वत स्कुल फाइनल प्रवेश गरेको छ । महिला र पुरुष प्रतियोगिताको फाइनल खेल शुक्रवार हुनेछ ।
फाइनलमा पुरुष तर्फ धरान मेघा र लोटस स्कुल र महिला तर्फ सियोन र पर्वत स्कुल बिच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ धरान मेघाले धरान आदर्शलाई ४५-३१ र लोटसले नवज्योतिलाई ४०-२४ अङ्कले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । 
महिला तर्फ सियोन स्कुलले धरान आदर्शलाई ७-५ र पर्वत स्कुलले कारमेल स्कुललाई २६-६ अङ्कले पराजित गरेर फाइनलमा प्रवेश गरेको छ। एनप्याब्सनको खेलकुद सप्ताहको बास्केटबल प्रतियोगितामा कक्षा १२ सम्मका महिला तर्फ ८ र पुरुष तर्फ ८ टिम बिच प्रतिस्पर्धा भएको हो ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । धरान–१२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा धरान बास्केटबल सङ्घको प्राविधिक सहयोग रहेको छ ।