धरान : गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रजिअ ७० जनाको काज सरुवा गरेको छ । सुनसरीमा हुमकला पाण्डे प्रमुख जिल्ला अधिकारी आउँदै छिन् भने झापा, मोरङ, धनकुटामा पनि नयाँ प्रमुख जिल्ला अधिकारी सरुवा भएर आउँदै छन् । 
गृह मन्त्रालयद्वारा जारी सरुवाको सूचि अनुसार झापाको प्रमुख जिल्ला अधिकारीमा शिवराम पोखरेल, गृह मन्त्रालयबाट झापा आउँदै छन् । तीर्थराज भट्टराई मोरङको प्रमुख जिल्ला अधिकारी भएर आउँदै छन् । उनी राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट मोरङ प्रजिअमा सरुवा भएका हुन् ।
धनकुटाको प्रमुख जिल्ला अधिकारीमा लिलाकुमारी केसी पाण्डे, गृह मन्त्रालयबाट सरुवा भएर आउँदै छिन् । दोलखाबाट प्रमुख जिल्ला अधिकारी, भोजराज खतिवडा सिराहाका प्रमुख जिल्ला अधिकारीमा आउँदै छन् । यसै गरी ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारीमा प्रदर्शनी कुमारी, राष्ट्रिय विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयबाट सरुवा भएर आउँदै छिन् ।
गृहमन्त्री स्तरीय निर्णयअनुसार राजपत्राङ्कित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।