धरान : नेपाल रेडक्रस सोसाइटी सुनसरीको पाँचकन्या उपशाखा कार्यसमितिको सोमवार सम्पन्न चुनावमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । एघार सदस्यीय कार्यसमितिको अध्यक्षमा पदमबहादुर कार्की सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।
कार्यसमितिको उपाध्यक्षमा झुमादेवी राई, सचिव रोशन ढकाल, कोषाध्यक्ष विश्वराज कार्की, उपसचिव नेत्रबहादुर भुजेल, उपसचिव शोभा दाहाल निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा महिला सदस्य रिता खनाल, हेमराज सुवेदी, चन्द्रबहादुर सुवेदी, गोविन्दबहादुर महत क्षेत्री र रामबहादुर विष्ट रहेका छन् ।
यसअघि आइतबार उपशाखाको साधारण सभा सञ्चालन भएको थियो । सभामा प्रदेश १ (क) सांसद रमेश बस्नेत प्रमुख अतिथि थिए । उनले विपद्का बेलाको साथी रेडक्रसको भूमिका ग्रामीण क्षेत्रमा रहँदै आएको बताए । रेडक्रस सुनसरीका मन्त्री मुकुल कायस्थ लगायता उक्त अवसरमा अतिथि रहेका थिए ।
साधारण सभा तथा निर्वाचन कार्यक्रम साबिक पाँचकन्या धरान वडा ६ स्थित रेडक्रस भवनमा सम्पन्न भएको हो । कार्यसमितिमा निर्वाचित वडा ५ बाट गोविन्दबहादुर महत क्षेत्री बाहेक सबै वडा ६ का रेडक्रस सदस्यहरू रहेका छन् । निर्वाचन अधिकारी प्रकाश राईले कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन ।