विराटनगर : मोरङको दुई ठाउँबाट लागुऔषध नियन्त्रण प्रहरी टोलीले बुधवार झापाको गौरादह-९ का ३१ वर्षीय सविन खड्का, मोरङको सुन्दर हरैचा-१० का ३७ वर्षीय आशिष लामिछाने गुरुङ र धनकुटा चौबिसे गाउँपालिका-६ का २८ वर्षीय आशिष लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
विराटनगर-१६ दक्षिण गेटमा भारतबाट नेपाल तर्फ आउँदै गरेका सबिन खड्कालाई लुपिजेसिक ४ एम्पुल, ऐभिल ४ एम्पुल, फेनारागन ४ एम्पुल र डाईजोपाम ४ एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
त्यसैगरी विराटनगर-१५ आशिष लामिछाने गुरुङलाई भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश नम्बर १-०२-०४६ प ३९७५ नम्बरको स्कुटर चेकजाँच गर्दा डाइलेक्स डिसी १०० एमएल २० बोतल सहित पक्राउ गरेको हो । आशिष लिम्बु सोही स्कुटरमा पछाडि बसेका थिए । पक्राउ परेकाहरूको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ।
यसैगरी झापाको भारतीय सिमाक्षेत्रमा भन्सार छली चोरी निकासी पैठारी गरेको अवस्थामा लाखौँका ढाका कपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले उक्त सामाग्री बरामद गरेको हो ।
अन्दाजी ५० हजारको सामाग्री मेचीनगर-७ धनकुटेली बस्तीबाट ढाकाको कपडाहरू नेपालबाट भारत लैजाँदै गरेको अवस्थामा बरामद गरेको हो । मेचीनगर-१० बाट २ लाख ७५ हजार बराबरको किरानाका सामान बरामद गरेको छ । सामानहरू आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी झापाले जनाएको छ।