धरान : धरान-८ निवासी प्रदेश नम्बर १ प्रदेश सभा सचिवालयका अधिकृत प्रेमबहादुर श्रेष्ठको आज बुधवार विराटनगर-३ स्थित ढाटमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । उनी विराटनगरबाट धरान फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए । 
मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका उक्त दुर्घटना प्रदेश १-०४-००१ ब ०००७ नम्बरको श्रेष्ठको मोटरसाइकल र को ३८ प ५३८७ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा  भएको हो । 
गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल मोरङको बूढीगंगा स्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि पुर्‍याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाँउपालीका २ का ३५ वर्षीय रोशन विक र पछाडि बसेका विराटनगर-४ का २५ वर्षीय विशाल प्रसाईँ सामान्य घाइते भएका छन् । 
श्रेष्ठ धरान-८ वरगाछी गुराँस चौक स्थित घरबाटै सधैँ कार्यालय आउने जाने गर्दथे । धरान-८ का वडाध्यक्ष धनबहादुर राईका अनुसार यसअघि श्रेष्ठ सुनसरी जिल्ला प्रशासन वरिष्ठ कम्प्युटर अपरेटरको पदमा कार्यरत रहँदा पनि मोटरसाइकलमै इनरुवा आउने जाने गर्दथे ।
जिल्ला प्रशासन कार्यालयबाट अधिकृत तहमा बढुवा भई श्रेष्ठ प्रदेश सभा सचिवालयमा सरुवा भएका थिए । अन्दाजी ४०/४२ वर्षका अधिकृत श्रेष्ठ भलाद्मी स्वभावका व्यक्ति थिए । वडाका सामाजिक कार्यहरूमा उनले सहयोगी भूमिका निर्वाह गर्दै आएका थिए । उनको निधनले वडा ८ ले एक असल, समाजसेवी गुमाएको छ ।
स्वर्गीय श्रेष्ठको शोक सन्तप्त परिवारमा श्रीमती र एक छोरा, एक छोरी छन् ।