चतरा : वराहक्षेत्र नगरपालिकाले हात्तीको आक्रमणबाट मृत्यु भएका धनबहादुर माझीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ। 
बिहीबार माझीको मृत्यु भएको ९ औँ दिनको दिन घरमै पुगेर नगरपालिकाले श्रद्धाञ्जली अर्पण गर्दै नगद पच्चिस हजार समेत राहत स्वरूप परिवारलाई प्रदान गरेको हो । नगर प्रमुख रमेश कार्की र प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाले परिवारजनलाई समवेदना पत्र र नगद हस्तान्तरण गरेका थिए ।
वराहक्षेत्र-५ सिमवरनाका माझीको माघ ३ गते स्थानिय जनजागृति सामुदायिक वन भित्र जडीबुटीको काम गर्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । आर्थिक रूपले विपन्न रहेको माझीको परिवारलाई राहत स्वरूप नगद सहयोग गरिएको नगर प्रमुख कार्कीले बताए । बिहीबार नै वडा नं.५ को कार्यालयले समेत माझीको परिवारलाई खाद्यान्न सँगै नगद १० हजार प्रदान गरेको छ । वडा अध्यक्ष रोहित काफ्ले र वडा सचिव निलम कार्कीले माझीको परिवारलाई समवेदना पत्र र नगद हस्तान्तरण गरेका थिए ।
मृतक माझीको परिवारमा श्रीमती र चार जना छोरी, ज्वाइँ रहेको परिवारलाई थप राहत कालागि पहल भइरहेको नगर प्रमुख कार्कीले बताए ।
hatti-wada-sahayog