इटहरी : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्री पञ्चमी पर्व बिहीबार विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । यस क्रममा इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालय परिसरको मन्दिरमा पूजा आराधना गरिएको हो ।
स्थानीय उमानाथ बजगाईँको स्मृतिमा निर्मित मन्दिरमा भव्यताका साथ श्री पञ्चमी पर्व मनाइएको हो । बजगाईँ परिवारले छ लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको मन्दिरले विद्यालयमा आकर्षण बढाएको प्रधानाध्यापक शरण बस्नेतले बताए । 
इटहरीको जनता बहुमुखी क्याम्पसमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पुरा आराधना गरी श्री पञ्चमी पर्व मनाए । सोही क्याम्पसका पूर्व स्ववियू सभापति समेत रहेका उनले विद्यार्थी सँगै लाइनमा बसेर पूजा गरेका हुन् । आफ पनि सोही क्याम्पसको उत्पादन भएकाले विद्यार्थी र क्याम्पस सँग भावनात्मक सम्बन्ध जोडिएको उनले बताए । 
इटहरीका विभिन्न क्याम्पस तथा शैक्षिक संस्थाहरूले हर्सौल्लासका साथ श्री पञ्चमी पर्व मनाएका छन् । विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको श्री पञ्चमी पर्वले विद्यार्थीमा उत्साह थपेको जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा.डा. गीता अधिकारीले बताइन ।
saraswati-puja-public-schoo
champion-saraswati-pooja