धरान : प्रदेश १ को धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य ताप्लेजुङ स्थित पाथीभरा मुक्कुमलुङमा केबुलकार निर्माण गर्ने कुरा अझै विवादको विषय नै बनेको छ । सरकारले निजी क्षेत्र यति होल्डिङस् लाई केबुलकार निर्माणको जिम्मा दिएको छ । विवादकै कारण दुई वर्ष अघि अवरोध भएपछि सर्भे कार्य स्थगित गरिएको थियो । 
पछिल्लो समय पुनः केबुलकार निर्माण गर्ने तयारी थलिएपछि मुक्कुमलुङका सरोकारवालाहरूले आन्दोलनको तयारी सुरु गरेका हुन् । पाथीभरालाई लिम्बु मुन्धुममा मुक्कुमलुङ भनिएको छ । केबुलकार निर्माणले मुन्धुमी पवित्र धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक आस्था स्थलको प्राकृतिक सम्पदा, वातावरण र पर्यावरण नष्ट हुने भन्दै सरोकारवालाहरू केबुलकार निर्माणको विरोधमा छन् ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा मङ्गलवार बसेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिको बैठकपछि पत्रकार सम्मेलन गर्दै निर्माण कम्पनी यति होल्डिङस्, स्थानिय प्रशासन, सम्बन्धित निकाय र नेपाल सरकारलाई केबुलकार निर्माण कार्य सुरु गरेमा प्रतिकार गर्ने चेतावनी दिएको छ ।
सङ्घर्ष समितिका संयोजक खगेन्द्र फोम्बु लिम्बुले भने ‘केबलकार निर्माणविरुद्ध जस्तोसुकै मूल्य चुकाउन हामी तयार छौँ ।’ समितिमा लिम्बू थरगत सहजीकरण समूह, किरात याक्थुङ चुम्लुङ र विभिन्न सरोकारवाला संस्थाहरूका १००८ सदस्य रहेका छन् ।
समितिको बैठकले मुक्कुमलुङ पाथीभरा क्षेत्रमा कुनै पनि किसिमको ब्यबसायिक संरचना केबुलकार निर्माण, मुन्धुम र सांस्कृतिक सम्पदामाथि ह्रास हुने किसिमको परियोजना र संरचना बनाउन नदिने निर्णय गरेको जानकारी गराइएको छ । 
निर्णयमा भनिएको छ ‘मुक्कुमलुङ मुन्धुमी पवित्र धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक आस्थाको स्थल हो । यो क्षेत्र आफैमा सांस्कृतिक तथा प्राकृतिक सम्पदा समेत भएकोले यो पवित्र आध्यात्मिक स्थलको र वातावरण तथा पर्यावरण समेतको संरक्षण गर्न अब आइन्दा राज्य, व्यापारिक कम्पनी वा कुनै पनि पक्षबाट यस क्षेत्रमा केबलकार लगायत कुनै पनि भौतिक संरचना निर्माण गरिनु नहुने र गर्न नदिने सर्व सम्मत निर्णय गरियो ।’
राज्यद्वारा हिन्दुकरण गरी सरकारी दस्ताबेज, प्रचार सामाग्रीहरूमा पाथीभरा नाम राखिएकोमा आपत्ति जनाउँदै सबै ठाउँमा मौलिक नाम उल्लेख हुनुपर्ने माग पनि सङ्घर्ष समितिले गरेको छ । पत्रकार सम्मेलनमा पाथीभराको मौलिक, ऐतिहासिक नाम मौलिक, ऐतिहासिक नाम मुक्कुमलुङ, सेमुक्तु मुक्तुबुङ, सेमुक्तु मुक्तुबो माङ, सेमुक्ती मुक्तिकोक भएको बताइएको छ ।
pathivara-cablecar-Pr