धरान : विराटनगरका व्यवसायी मोहन न्यौपानेले हिजो गरेको आत्महत्या र काठमाण्डौको सडकमा प्रेम प्रसाद न्यौपानेले गरेको आत्मदाह अघि लेखेको सुसाइड नोटले उद्योग व्यवसायीले सरकारी नीतिका कारण भोग्दै आउनु परेको सङ्कट नै भएको नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ ले बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

 विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहन न्यौपाने र प्रेमप्रसाद आचार्यकै जस्ता कैयन व्यवसायीहरू अहिले पिडामा रहेको उल्लेख गर्दै व्यवसायीहरूको पिडा बेलैमा सरकारले नबुझे भविष्यमा यस्ता घटना फेरी नदोहोरिएला भन्न नसकिने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘सरकारको नीतिकै कारण आज व्यवसायीहरूले अनेकौँ समस्याहरू झेल्दै आएको हामीले महसुस गरेका छौँ ।’

सरकारको राजश्व, बैङ्क व्याज लगायतका कारण कारोबारमा ठुलो समस्या आएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘बैङ्क तथा वित्तीय संस्थाको चर्को व्याज दर लगायतका कारण देशको आर्थिक अवस्था भयावह स्थितिमा रहेको छ । व्यवसायीहरू उत्पादन कटौती गर्न बाध्य छन् ।’

इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले खुलेआम आत्मदाह गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका यथार्थ वेदनाबाट अहिले व्यवसायीहरूको अवस्था के छ भन्ने खुलस्त देखिने कुरा उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘यसै गरी हिजो विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहन न्यौपानेले पनि सुसाइड नोटमा बैङ्कको व्याजका कारण देखाई आत्महत्या गरेका छन् ।’ 

उद्योग व्यवसायीहरूले भोग्नु परेका समस्याका बारेमा उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि यसमा ठोस कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै सरकारको नीति, बैङ्क तथा वित्तीय संस्थाको कर्जा तथा बैङ्क व्याज लगायतका विषयमा आवाज उठाउन जिल्ला उद्योग वाणिज्य सङ्घहरूलाई विज्ञप्ति मार्फत आग्रह गर्दै दुवै दुःखद घट्नाप्रति शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना एवं शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ ।