चतरा : वराहक्षेत्र नगरपालिकाले अपाङ्गता भएका मानिसहरूलाई समाजमा पुनर्स्थापना गर्ने उद्देश्यले अपाङ्गता साहयता सामाग्री वितरण गरेको छ । नगरपालिकाको योजना अनुसार अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम‌ अन्तर्गत अपाङ्गता भएका मानिसहरूलाई विभिन्न साहयताका सामाग्री हस्तान्तरण गरिएको हो । 
वराहक्षेत्र नगरपालिका सामाजिक विकास शाखाका प्रमुख अरुण मेहताका अनुसार २७ जना शारीरिक अपाङ्गता भएका मानिसहरूलाई ह्विल चियर वितरण गरिएको छ । त्यतै  वैशाखी दश थान, वाकर एक थान , सेतो छडी दुई थान, ट्वाइलेट चेयर तीन थान, हैयरिङ्ग एड दश थान र वाकिङ्ग स्टिक २७ थान वितरण गरिएको थियो ।
शाखा प्रमुख मेहताका अनुसार अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत समुदायबाट माग भई वडाको सिफारिसको अधारमा अपाङ्गताहरूलाई जीवनयापन गर्न सहज पुग्ने हिसाबले अपाङ्गता सहायक सामग्री खरिद गरी उपलब्ध गाराएको हो ।
अपाङ्गता भएका मानिसहरूलाई दैनिकी काम गर्न सहज र पुनर्स्थापनाका लागि सामाग्री वितरण गरिएको सामाजिक विकास शाखाका संयोजक रोशन खड्काले बताए । नगरपालिकाले सामाग्री वितरणसँगै अपाङ्गता भएका मानिसको क्षमता विकास र आय आर्जनका लागि विभिन्न अन्तर्क्रिया र सीप मूलक तालिमको समेत आयोजना गर्दै आइरहेको छ ।