धरान : धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको कन्सर्टमा भागदौड मच्चिदा २४ जना घाइते भएका छन्।
घाइतेहरू मध्ये १६ जनाको धनकुटा अस्पतालमा र ८ जनाको धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार धरानको बिपी प्रतिष्ठानमा उपचाररत दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । 
गम्भीर घाइते मध्ये एक जना बालक र एक महिला रहेको  श्रेष्ठले जानकारी दिए । अत्यधिक भीडका कारण भाग दौड मच्चिदा दर्शकहरू घाइते भएको उनले जानकारी दिए।
करिब ३ हजार क्षमता रहेको स्थानमा धेरै दर्शकको भीड रहेको थियो । दुईतर्फको महोत्सवस्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो । 
अत्यधिक भीड रहेको बेला एकैपटक बन्द गरिएको गेटको ढोका खोल्दा थिचाथिच हुँदा घाइते भएको जनाइएको छ। उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव घटनापछि तत्काल सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् ।
घटना पछि शनिवारका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ।