विराटनगर : ट्राफिक प्रहरीसँगको सहकार्यमा महानगर प्रहरीले ट्राफिक व्यवस्थापनलाई तीव्रता दिएको छ । 
बजार क्षेत्रका विभिन्न सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको महानगरले सिटी रिक्सालाई व्यवस्थित गर्ने अभियान पनि सञ्चालन गरेको छ । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँगको सहकार्यमा महानगर प्रहरीले सिटी रिक्सा चालकलाई सडकमै ट्राफिक नियम र लेन अनुशासनका विषयमा जानकारी गराएको छ । 
महानगरका विभिन्न सडकमा सिटी रिक्सा चालकलाई रोकेर ट्राफिक लेनका बारेमा जानकारी गराएको हो । सो क्रममा महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरीका वरिष्ठ नायव निरीक्षक यज्ञ शर्माले ट्राफिक नियम, पार्किङ, लेन अनुशासनलगायतका विषयमा जानकारी गराए ।