इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनलाई लिएर नेपाली काँग्रेसमा आन्तरिक असन्तुष्टि बढेको छ। नगर सभापति हेमकर्ण पौडेलले लोकतान्त्रिक प्यानलबाट गायत्री कटवाल भण्डारीलाई आधिकारिक उम्मेदवार घोषणा गरेपछि विवाद चुलिएको हो । 
यसअघि पूर्व अध्यक्षहरू र नगर समिति बिचको छलफलबाट उम्मेदवार छनौट गर्ने सहमति भएको थियो । पछि पूर्व अध्यक्षहरूले नगर समितिलाई जिम्मा लगाएका थिए । नगर समितिले इनटुरिस्ट होटेलमा कार्यक्रमको आयोजना गरी राय परामर्श समेत लियो । तथापि तत्काल कुनै निर्णय भएन । त्यसपछि न्युट्रल देखिएको पार्टी नेतृत्वले चुनावी माहौल तातिएपछि भण्डारीलाई समर्थन गर्ने उद्घोष गर्‍यो । लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिने तयारीमा रहेका जीवन पराजुलीले यसअघि नै मनोनयन दर्ता गराएका छन् । भण्डारीले पनि प्यानल सहित उम्मेदवारी दिएकी छिन् । काँग्रेस निकट व्यवसायी पीताम्बर पोखरेल र मणीन्द्र कटवालले समेत स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् । २२ गते आइबार सम्म मनोनयन फिर्ता लिने निर्वाचन समितिले जनाएको छ । २८ गते हुने निर्वाचनमा कसैले उम्मेदवारी फिर्ता नलिएर अध्यक्षमा मात्र ५ जनाको प्रतिस्पर्धा हुने प्रस्ट छ । 
उता काँग्रेस नगर सभापतिको निर्णय प्रति स्थानीय नेताहरूले नै असन्तुष्टि जनाएका छन् । पौडेलसँगै नगर सभापतिमा पराजित भएका महासमिति सदस्य विकाश केसीले उद्योगी व्यवसायीको आत्मनिर्णयको अधिकारमाथि हस्तक्षेप भएको बताएका छन् । नगर समितिको बैठकै नबसी विवादास्पद विज्ञप्ति जारी भएको उनको भनाई छ । त्यस सँगै उनले आर्थिक सङ्कट तथा उद्योगी व्यवसायीको समस्या समाधान गर्ने नेतृत्व छनौट गर्न आग्रह गरेका छन् । 
कार्यसमितिकै उपसभापति बालकृष्ण विष्टले पनि पार्टीले हस्तक्षेप गरेको भन्दै खेद व्यक्त गरेका छन् । विना छलफल सभापतिले एकलौटी रूपमा विज्ञप्ति प्रकाशित गरेको उनको भनाई छ । सोही विषयलाई लिएर तत्काल नगर समिति बैठक बोलाउन उनले आह्वान गरेका छन् । 
नगर सभापतिले भण्डारीको समर्थनमा अपिल गर्दै गर्दा उवासंघका वर्तमान अध्यक्ष भीम बहादुर पौडेल पराजुलीको प्यानल विजयी गराउने अभियानमा छन् । पौडेल इटहरीका प्रभावशाली व्यवसायीको रूपमा चिनिन्छन् । पौडेलको कारण मात्र ५ सयको हाराहारीमा मत प्रभावित हुन्छ । त्यस्तै होटेल व्यवसायी र अन्य मतले पराजुली विजयी हुने आसमा छन् । त्यससँगै काँग्रेसको एउटा समूह सहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्रको संयुक्त प्यानलको नेतृत्व पराजुलीले गरेका छन् । 
भण्डारीको पक्षमा पूर्व अध्यक्ष रोहित प्रसाईँ, वरिष्ठ उपाध्यक्ष तथा वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेल लगायत रेडिमेड व्यवसायी सङ्घ खुलेर लागेका छन् । पुरानो व्यवसायीको रूपमा परिचित भण्डारी महिलाको मत आकर्षित गर्ने रणनीतिमा छिन् । तथापि एमालेले पनि रन्जु सिग्देललाई उम्मेदवार बनाएपछि महिला प्रतिको सेन्टीमेन्ट विभाजित हुने प्रस्ट देखिन्छ । 
काँग्रेस निकट व्यवसायीको विभाजनको फाइदा लिने रणनीतिमा छ एमाले । युवा तथा अनुभवी उम्मेदवारको मिश्रित प्यानल बनाएको एमालेले अध्यक्षमा सिग्देल सहित बहुमत सदस्य विजयी गराउने तयारी गरेको छ । सम्पूर्ण जनवर्गीय सङ्गठन परिचालन गरेको एमाले लिलम बस्नेतको साख फर्काउने योजना गरेको छ । 
ITAhari-chember-bibaditahari-congresh-Chember-bi