धरान : धरानमा आयोजना हुन गईरहेको प्रदेश १ स्तरीय पाँचौँ पुष्प प्रदर्शनी तथा व्यापार मेलाको आयोजक र सहभागी नर्सरी बिच असन्तुष्टि बढेको देखिएको छ । मेलाको सुरुआत देखी सक्रिय सहभागी हुँदै आएको धरान-१४ स्थित बुढासुब्बा नर्सरीद्वारा यसपालि सहभागी नहुने कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि असन्तुष्टिको खुलासा भएको हो ।
मेलाको सुरुआत देखी निर्णायक भूमिका निर्वाह गर्दै आएका नर्सरीका सञ्चालक प्रेमप्रसाद पराजुलीले आज फेसबुकमा एक स्ट्याटस राख्दै लेखेका छन् ‘यही माघ २५गतेदेखि हाम्रो सुन्दर नगरी धरानमा आयोजना हुन लागेको पुष्प व्यापार मेलामा बुढा सुब्बा नर्सरी धरान-१४ स्टल नरहने जानकारी गराउँदै मेलाको सफलताको कामना समेत गर्दछु ।’ 
उनको स्ट्याटसमा कमेन्ट गर्दै नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहले भनेका छन् ‘कुनै एउटा नर्सरीको सहभागिता हुनु नहुनुले खासै अर्थ राख्दैन । तर प्रेम जीको सहभागिता नहुनुले अर्थ राख्छ । किन कि सायद उहाँ संस्थापक सँगै परिकल्पनाकार पनि हुनुहुन्छ ।’ 
उनले लेखेका छन् ‘धरान फूलबारीको सहर हो । फूलबारी सौन्र्दर्यता सँग मात्र जोडिँदैन यो कोमलता र स्व परिचालन हुने श्रम क्षेत्र पनि हो । यो पर्यटन सँग पनि जोडिन्छ । यी सबैको प्रवर्द्धनका लागि हुने पुष्प मेला महत्त्वपूर्ण छ । कुनै एउटा नर्सरीको सहभागिता हुनु नहुनुले खासै अर्थ राख्दैन । तर प्रेम जी को सहभागिता नहुनुले अर्थ राख्छ ।’ 
‘किन कि सायद उहाँ संस्थापक सँगै परिकल्पनाकार पनि हुनुहुन्छ । प्रेम जी तपाईँको व्यक्तिगत कुनै कारणले सहभागिता नराख्ने तपाईँको व्यक्तिगत कुरा हो । तर यो परम्परालाई निरन्तरता दिन पनि तपाईँको सहभागिता अनिवार्य छ । तपाईँलाई हामीले  मेलामा देख्न र तपाईँको नर्सरीमा हुर्केका फुलका बिरुवा किन्न पाउँ ।’
धरान उपमहानगरपालिका कार्यपालिका सदस्य दिनेश गजमेरले आफ्नो कमेन्टमा भनेका छन् ‘के गर्नु दाजु पुष्प मेलाको लागि बजेट विनियोजन गरौँ भन्दा मेयर साबले चासो दिनु भएन, तर पनि हाम्रो साथ सहयोग रहनेछ , प्रेम दाजु तपाईँ पुष्प मेलाको संस्थापक हो । समय र परिस्थितिले तपाई लाई गाह्रो बनाएको छ । तथापि पुष्प मेला सफल पार्न तपाइको भूमिका महत्त्वपूर्ण रहनेछ मेरो विश्वास छ ।’
मेलामा फास्ट फुड खाजाको स्टल राख्न लागेका ब्रदर्श बेकरीले पनि स्टल नराख्ने घोषणा गर्दै एनसी राईले कमेन्टमा लेखेका छन् ‘किन अङ्कल ? त्यसो भए ‘ब्रदर्श बेकरी’ले पनि  नराख्ने घोषणा गर्छु ।’
मेला माघ २५ देखि २९ गते सम्म पब्लिक स्कुलको मैदानमा हुँदैछ । प्रेमप्रसाद पराजुली मेला आयोजक समितिका सल्लाहकार पनि हुन् । मेला आयोजनाका बारेमा गत माघ १६ गते आयोजित पत्रकार सम्मेलनमा उनी आयोजक समिति सँगै मञ्चमा आसन ग्रहण गरी बसेका थिए । 
एक साता पनि नबित्दै आफ्नो नर्सरी मेलामा सहभागी नहुने निर्णय गर्ने कस्तो परिस्थिति आइपर्‍यो भनि ‘कपुरी’ ले प्रश्न गर्दा उनले ‘निहित स्वार्थ हाबी भएको’ बताए । कसको र कस्तो निहित स्वार्थ भन्ने कुरा उनले पुरा खुलाएनन् । कुनै पनि हालतमा आफ्नो नर्सरी मेलामा सहभागी नहुने कुरा उनले दोहोर्‍याए ।
नेपाल फ्लोरीकल्चर एसोसिएसन केन्द्रीय समितिद्वारा मेला सञ्चालनमा बढी हस्तक्षेप भएको उनले सङ्केत गरे । केन्द्रीय समितिकाहरुले जे गर्छन् त्यही लागु हुने कुराले पराजुली असन्तुष्ट बनेका हुन भन्ने बुझिएको छ । के विषयमा असन्तुष्टि बढेको हो भन्ने बारेमा उनले केही खुलाएनन् । 
तर, सामाजिक सञ्जालमा उनको स्ट्याटस अहिले भाइरल भइरहेको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले कमेन्ट गर्दै लेखेका छन् ‘किन र दाजु हजुर विना अधुरो हुन्छ ,सुरुआत तपाईँबाट भएको होइन र ?’ सुरेन्द्र घिमिरे सुमेधाले लेखेका छन् ‘धरान धरान रहन्न सायद दाजु, तपाईँ प्रवर्तक हुनुहुन्छ त्यसैले यसको संरक्षक पनि तपाईँ नै हुनुपर्छ ।’
यसअघि पत्रकार सम्मेलनमा पराजुलीले धरान उपमहानगरपालिकाले मेलाको लागि आर्थिक सहयोग नगरेकोमा असन्तुष्टि प्रकट गर्दै भनेका थिए ‘‘व्यवसायीले सधैँ बजेटको लागि चाकडी चाप्लुसी गर्नु पर्ने बाध्यता छ ।’ पाँच दिनसम्म सञ्चालन हुने पुष्प व्यापार मेलामा खरिद विक्रीका लागि ५ सय भन्दा बढी प्रजातिका फूल प्रदर्शनीमा राखिन मेला संयोजक राम कुमार राईले बताएका थिए ।