इटहरी : इटहरीका मेयर हेमकर्ण पौडेल व्यापारीहरू सँग हात जोड्दै सडकमा निस्किएका छन् । आज इटहरी स्थित विराटनगर लाइन पसल थापेर बसेका व्यापारीलाई आफैँले भेटेर सम्झाउने प्रयास गरे । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत ६ लेन सडक आयोजना केही घरवालाका कारण प्रभावित भएको भन्दै मेयर पौडेलले पसल गरेर बसेका व्यापारीहरूलाई सम्झाउन पुगे । 
दिउँसो इटहरी उपमहानगरमा मेयर पौडेलको नेतृत्वमा ६ लेन सडक आयोजना प्रमुख र हाइवे सडक सँग जोडिएका घरधनीहरू सँगको छलफलमा धरधनीहरू सहमतिमा नआए पछि बल प्रयोग गरेर उपमहानगरले राइट अफ वे क्लियर गर्ने भएको छ ।आज नै उपमहानगरका मेयर पौडेल सहित इटहरी ६ का वडा अध्यक्ष दिवस पोखरेल सहितको टोलीले भत्काउनै पर्ने घरमा व्यापार गर्नेहरूलाई पसल हटाइदिन आग्रह गरेको हो । 
इटहरीका मेयर पसलहरूमा पुगेर भन्दै थिए "हामी सडक विस्तार अभियानमा छौ इटहरीमा केही घरधुरीको कारण यो सडक नबन्ने भयो ६ लेन सडक आयोजनाले पनि काम नगर्ला जस्तो भयो पसलहरू खाली गरिदिनु पर्‍यो हजुर, हामी केही दिनमा यो सडक फराकिलो बनाउने तयारी गर्दछौ अन्यत्र सडक खोजेर व्यापार गरिदिनुहोस् है प्लिज" । मेयर पौडेल दर्जन भन्दा बढी पसल पुगेर यस्तै भनिरहेका थिए ।
इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार भित्र पर्ने १४ वटा घर डोजर प्रयोग गरी भत्काई सकेको छ। इटहरी वडा नं ९ स्थित विराटनगर लाइनमा रहेका घरमा डोजर प्रयोग गरेर भत्काइएको हो । सोही लाइनको इटहरीकै पुरानो क्लबले पनि आफ्नो भवन भत्काएको छ । त्यस्तै स्थानीय राजकुमार भुजेलले पनि आफू सडक विस्तारको बाधक नभएको भन्दै आफ्नो घर आफैले भत्काएका छन् । तर केही घरधनीहरूले भने मुआब्जा नपाए सम्म घर भत्काउन नदिने भन्दै आएका छन् ।
घर भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरस्ता चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको छैन । वडा नं ६ भित्र पर्ने केही घरहरू भत्काउन अन्तिम अल्टिमेटम दिएको र अटेर गरे ती घरहरू पनि डोजर लगाएर भत्काउने मेयर पौडेलले बताए।
इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने बाँकी नै रहेको छ । ६ लेन सडक विस्तार आयोजनाका अनुसार इटहरी बजारदेखि उत्तरतर्फ सेनाको मुख्यालयसम्म २०-२० मिटर सडक विस्तार गर्न घर भत्काउनु पर्दैन । फुटपाथ बनाउन भने घर पनि भत्काउनुपर्छ। तर, अहिले त्यो काम अघि बढेको छैन । 
इटहरी बजारको चौरस्ता चोकभन्दा दक्षिणतर्फ भने अहिले २० मिटर सडक छ । यसमा सरोकारवालासँग भएको सहमति अनुसार दुवैतर्फ १५-१५ मिटर विस्तार गर्ने निर्णय भए पनि घर नभत्काउँदा सडक विस्तार हुन सकेको छैन ।
२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा ६ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो। पछिल्लो समय थप गरिएको हो । पुरै सडक निर्माण गर्दा सुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो। लामो समयदेखि अस्तव्यस्त इटहरीको मुख्य सडक पेटीलाई इटहरी सरकारले थप व्यवस्थित बनाउने भएको छ । पैदल यात्रुका हिँड्नका लागि बनाइएका फुटपाथ व्यापारीहरूले कब्जा गर्ने क्रम बढे सँगै इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले सडक पेटी खाली गर्ने निर्देशन दिएका हुन ।