धरान : नेपाल बुद्धिचाल सङ्घको  धरान उपमहानगर समिति गठन भएको छ । बुद्धिचाल खेलका राष्ट्रिय खेलाडी, बुद्धिचाल खेल प्रेमीहरूको भेलाले सङ्घको धरान उपमहानगर कमिटी गठन गरेको हो । 
उपमहानगर कमिटीको अध्यक्षमा बुद्धिचाल खेलाडी मोहन मगराती मगर निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष लक्ष्मण लिम्बु, सचिव पवन पौडेल, कोषाध्यक्ष राजु राई रहेका छन् । सदस्यहरूमा हिमाल राई रहेका छन् भने महिलाबाट दुई जना सदस्य कार्यसमितिले मनोनयन गर्नेछ ।
नवनिर्वाचित अध्यक्ष मगरातीका अनुसार धरान-८ स्थित मोमो हलमा शनिवार भएको भेलाले समिति गठन गरेको हो । भेलामा केन्द्रीय समितिको प्रतिनिधिको रूपमा सुनसरी जिल्ला बुद्धिचाल सङ्घ तदर्थ समिति संयोजक बल बहादुर तामाङ र सदस्य नारायण खड्का उपस्थित थिए ।
बुद्धिचाल सङ्घको नगर समितिले आउँदा दिनमा नगर, प्रदेश, राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने कार्यक्रम बनाउने अध्यक्ष मगरातीले बताए। उनले भने ‘बुद्धिचाल खेलको प्रवर्द्धन गर्न धरानमा मलाई दिएको जिम्मा अवसरको रूपमा प्रयोग गर्नेछु ।’