विराटनगर : विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले सहकारीलाई बलियो बनाउन एकीकरण (मर्ज)मा जानुपर्नेमा जोड दिएका छन् ।
विराटनगर महानगरपालिकाको कृषि तथा सहकारी शाखाले आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले सहकारीहरूबिच एकीकरण गरेर सञ्चालन गर्नु जरुरी रहेको औँल्याए ।
विराटनगरमा सञ्चालित केहीबाहेक अधिकांश सहकारीको आर्थिक अवस्था कमजोर रहेको मेयर कोइरालाको भाइ थियो । “सकिन्छ भने मर्जमा गएर व्यवस्थित गरौँ,” उनले भने, “यदि मर्जमा नजाने हो भने व्यवस्थित र पारदर्शी रूपमा चलाउनुपर्‍यो ।” त्यस्तै सहकारीको भावना र मर्म विपरीत सञ्चालन गरिँदा सहकारी क्षेत्रमा समस्या सिर्जना भएको मेयर कोइरालाको भनाइ थियो । उनले सहकारीले गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका हुने गरेको समेत चर्चा गरे ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले विराटनगरको सहकारीहरूको अवस्था दयनीय भएको बताइन् । उनले महानगरको न्यायिक समितिमा हरेक दिन ५ वटाभन्दा बढी उजुरी आउने गरेको समेत सुनाइन् । उनले भनिन्, “विराटनगरमा सहकारीको अवस्था दयनीय छ । हामी अनुगमनमा जाँदा खातापाता नै व्यवस्थित नभएको पाउने गरेका छौँ ।” महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारीका सवालमा महानगर कठोर भएर प्रस्तुत हुने जानकारी दिइन् ।
अन्तरक्रियामा सहकारी क्षेत्रका व्यक्तिहरूले सहकारीहरूको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । महानगरभित्र कृषि, बहूद्देश्यीयसहित विभिन्न विषयगत १९२ वटा सहकारी सञ्चालनमा रहेको कृषि तथा सहकारी शाखाकी प्रमुख पृथ्वी बस्नेतले जानकारी दिइन् ।