धरान : भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी परिसर भित्र हुने भारतीय हिन्दु धार्मिक गतिविधिको नेपाल आदिवासी जनजाति महासङ्घले विरोध गरेको छ । 
विश्व सम्पदा सूचिमा सूचीकृत लुम्बिनी परिसर बौद्ध धर्माललम्बिहरुको आस्थाको केन्द्र हो । भारतीय हिन्दु संस्थाद्वारा त्यहाँ गरिने गतिविधि बौद्ध धर्मप्रति अपमान र धार्मिक तथा सांस्कृतिक अतिक्रमणद्वारा नेपालको सार्वभौम सत्ता माथि नै हस्तक्षेप भएको महासङ्घ द्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
भारतीय हिन्दु धार्मिक संस्थाको आयोजनामा माघ २१ देखी २९ सम्म लुम्बिनी परिसरमा भारतीय धर्मगुरु मोररी बापु द्वारा रामकथा प्रवचन कार्यक्रम गरिँदैछ । कार्यक्रमका लागि लुम्बिनी विकाश कोषले अनुमति दिएको छ । भारतीय धार्मिक गतिविधिका लागि कोषले अनुमति दिएकोमा पनि महासङ्घले आपत्ति जनाएको हो । 
यसलाई ‘धार्मिक तथा सांस्कृतिक अतिक्रमणको माध्यमबाट नेपाली सार्वभौम सत्ता माथि नै हस्तक्षेप गर्ने विस्तारवादी र प्रभुत्ववादी अहंमता लिएर गर्न लागिको कार्यप्रति महासङ्घ कडा ढङ्गले विरोधमा उत्रने अवगत गराउँदछौ’ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘बुद्धको जन्मस्थल लुम्बिनीमा रामकथा वाचन राखिनु लाई हामी बौद्ध धर्मावलम्बिहरुको आस्था र बौद्ध धर्मप्रति अपमान हो भन्ने बुझेका छौँ ।’ विश्वका बौद्ध धर्मावलम्बिहरुका आदर र सम्मानको प्रतीक बुद्धको पवित्र जन्मस्थलमा नै एउटा फरक धर्मको स्तुति गान हुन्छ भने त्यति बेला बौद्ध धर्मावलम्बिहरु मूकदर्शक भएर बस्न सक्दैनन् भनी विज्ञप्तिमा भनिएको छ।
lumbini-mandir-janajati