चतरा : वराहक्षेत्र १ कटहरेमा रहेको पंखवती देवी मन्दिर प्राचीन तथा पौराणिक महत्त्व बोकेको मन्दिर हो। भगवान् महादेवले सतीदेवीको शरीर बोकेर हिँड्दा उक्त क्षेत्रमा सतीदेवीको पङ्ख अर्थात् हात पतन भएको किंवदन्ती रहेको छ । उक्त मन्दिरमा वैशाख महिनाको पूर्णिमा र मङ्सिर महिनाको पूर्णिमाको दिन विशेष पूजा अर्चना गरिन्छ ।
उक्त मन्दिरमा २०४० सालदेखि पुजारीको रूपमा रहेका वीर बहादुर थापाका अनुसार स्थानीयहरूले सु:ख दुःख पर्दा मन्दिरलाई सम्झने गर्दछन्, भाकल गर्छन् । पौराणिक महत्त्व बोकेको मन्दिर भएकाले देवीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको पुजारीको भनाई छ ।
उक्त मन्दिरमा विशेष गरी वगुवावासीले पूजा आराधना गर्ने गरेको वगुनाका स्थानीय दिनेश कार्कीले बताए । बगुवामा बस्ने मानिसले सानो दुःख परे पनि पंखवती देवी भनेर पुकार्ने गरेको उनी बताउँछन् । बगुवा गाउमा रहेका २ सय भन्दा बढी परिवारले पंखवती मन्दिरमा गएर पूजा गर्ने, समस्या परे, खुसी भए भाकल गर्ने गरेको स्थानीय राजु थापाको भनाई छ ।
उक्त मन्दिरको नाममा गाउमा एउटा आधारभूत सामुदायिक विद्यालय समेत सञ्चालनमा छ । त्यस्तै एउटा गाउमा सामुदायिक वन उपभोक्ता समिति छ भने चतरा उक्त मन्दिरकै नाममा पंखवती बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा रहेको छ। उक्त सहकारीका संस्थापक अध्यक्ष ईश्वर थापाका अनुसार मन्दिरकै प्रचारप्रसारका लागि सहकारीको नामकरण गरिएको बताउँछन् । सहकारीले मन्दिरको प्रबर्द्धनकालागि चौताराको निर्माण समेत रहेको थापाको भनाई छ। पौराणिक महत्त्व बोकेको मन्दिरको बिकासकालागि आफूले स्थानीयवासीको सहयोगमा काम गरेको र वडा कार्यालयले पनि समय समयमा सहयोग गरेको बताए।
गत शनिवार मन्दिरको प्रवर्द्धन गर्ने उद्देश्यले सरसफाइ गर्ने पुगेका नगर प्रमुख रमेश कार्की मन्दिरको विकासमा नगरपालिका लागि पर्ने बताए । गाउँबाट मन्दिरसम्म पुग्ने मार्गलाई पद मार्ग बनाउने, घेरावेरा गर्ने कार्यमा नगरपालिका लागि पर्ने नगर प्रमुख कार्कीले उद्घोष गरे । स्थानीय सङ्घ, संस्थासँग समेत समन्वय र सहकार्य गरेर उक्त पंखवती मन्दिरको प्रवर्द्धनमा लागि पर्ने कार्कीको भनाई छ ।
pankhawati-mandir-mayor