इटहरी : नेपाली काँग्रेसका प्रदेश १ का प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेशसभा सेटिङ जस्तो देखिएको बताएका छन् । सोमबार बसेको प्रदेशसभाको प्रथम अधिवेशनको छैटौँ बैठकमा कार्कीले प्रदेश सभाले सांसदले बोल्न पाउनुपर्ने अधिकारलाई कटौती गरेको बताएका हुन् । 
प्रदेशसभा सदस्यहरूले आफू निर्वाचित भएको क्षेत्रका जनताका मुद्दा र आवश्यकता बारे कुरा राख्न नपाउनु आपत्तिजनक भएको उनको भनाई छ । संसद्को कार्यकाल ३ महिना पुग्दै लाग्दा समेत सरकारले बिजनेस दिन नसकेको र सांसदले आफ्नो धारणासमेत राख्न नपाएको उनले बताए ।  
पूर्व मन्त्री समेत रहेका कार्कीले संसद्को शून्य समयलाई सेटिङ जसरी हटाइएको र यसले सांसदहरूको अधिकार कुण्ठित गरेको प्रस्ट पारे । ‘सांसदको आ-आफ्नो अभिव्यक्ति गर्ने अवसरबाट वञ्चित गराइएको छ । सांसदले आफ्नो अभिव्यक्ति सांसदभित्र राखेर जनतामाझ पुर्‍याउन नसक्ने सेटिङझैँ देखिएको छ । यसलाई जिल्ला विकास कार्यालयको सर्वदलीय बैठकझैँ राखेर सांसदलाई बोल्ने अधिकारबाट वञ्चित गराउन आपत्तिजनक छ, उनले भने 
सोमबार बसेको बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत स्वीकृत गरेको छ । प्रदेश सभाले कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ । 
समितिको अध्यक्षमा सभामुख बाबुराम गौतम रहने छन् भने आन्तरिक मामिला तथा कानुन मन्त्री र उपसभामुख पदेन सदस्य रहने भएका हुन् । राजनीतिक दलतर्फबाट अम्बरबहादुर विष्ट, नारायणबहादुर मगर, विद्या चाम्लिङ राई, भीम पराजुली, भूपेन्द्र, राई, रेवतीरमण भण्डारी, सिर्जना राई र ज्ञानेन्द्र सुवेदी सदस्य छन् ।