विराटनगर : भारतबाट एयर गन, एयर पेस्तोल र त्यसमा प्रयोग हुने छर्रा गोली नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले सोमवार बिहान ४ जनालाई हतियार सहित पक्राउ गरेको छ । उनीहरूको साथबाट २ थान एयर गन, एक थान एयर पेस्तोल र त्यसमा प्रयोग हुने छर्रा गोली १७० गोटा बरामद गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको हो ।
प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईका अनुसार पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल सिलिगुडी प्रधान नगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्मद सुल्तान सुसेन र २० वर्षीय बिटु सरकार रहेका छन् । 
उनीहरूलाई शङ्कास्पद अवस्थामा भारतबाट नेपाल तर्फ आउँदै गरेका अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा उनीहरूबाट हतियार त्यसमा प्रयोग हुने गोली बरामद गरेको हो । बरामद हतियार र गोली सहित पक्राउ परेका चारै जनाको बारेमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।