धरान : विजयपुर धरान-१४ स्थित पञ्चायत दन्तकाली माध्यमिक विद्यालय ६५औँ वर्षमा लागेको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयद्वारा बुधवार आयोजित कार्यक्रममा लामो समयदेखि शिक्षण सेवामा रहेका ३ जना शिक्षक, शिक्षिका सम्मानित गरेको छ ।
उनीहरूलाई विद्यालयको ‘वर्ष शिक्षक’ घोषणा गर्दै सम्मान गरिएको हो । शैक्षिक वर्ष २०७७/०७८ का लागि सम्मानित शिक्षकत्रयमा प्रदीप श्रेष्ठ, कृष्ण तिम्सिना र सुषमा खवास छिन् । उनीहरूलाई प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा प्रमुख शम्भुप्रसाद पाण्डेले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेका थिए ।
विद्यालयले प्रत्येक साल वर्ष भरी उत्कृष्ट कार्य गर्दै आएका शिक्षक, शिक्षिकालाई वर्ष शिक्षक घोषणा गरी सम्मानित गर्दै आएको छ । यसले शिक्षकहरूमा शिक्षण कार्यप्रति लगनशीलता बढाउने र विद्यालयले असल शिक्षकको कदर गर्ने परम्परा बसाएको प्रधानाध्यापक सिताराम कोइरालाले बताए ।
वार्षिकोत्सवको अवसरमा माविका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गरिएको थियो । उनीहरूले लोकनृत्य प्रस्तुत गरेको थिए । उत्कृष्ट छात्र छात्रा पुरस्कृत भएका थिए । सोही अवसरमा विद्यालयमा दाताहरूबाट स्थापित १५ वटा अक्षय कोषबाट विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रदान गरियो ।
समारोहका बिच मितेरी फुटसलद्वारा विद्यालयलाई प्रदान गरिएको खेल सामग्री हस्तान्तरण गरिनुका साथै समाजसेवी सन्तोष निरौला साइरामबाट प्राप्त शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको थियो । 
पिण्डेश्वर विद्यापीठका प्राचार्य काशीनाथ पौडेल, पब्लिक मावि फुस्रेका प्रधानाध्यापक पुरुषोत्तम निरौला, अक्षयकोष दाताहरूबाट श्यामकुमार श्रेष्ठले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै थप प्रगतिका लागि शुभकामना प्रकट गरेका थिए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालको सभापतित्वमा भएको वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक सिताराम कोइरालाले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन रविन थापाले गरेका थिए ।