विराटनगर : लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. अभिनारायण घिमिरे र उनकी श्रीमतीको नाममा प्रतिष्ठान स्थापना गरिएको छ । 
प्रतिष्ठानमार्फत समाजसेवा गर्ने उद्देश्यले डा.अभिनारायण सुशीला घिमिरे फाउन्डेसन स्थापना गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फाउन्डेसनको सार्वजनिक गरिएको छ । 
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, ज्येष्ठ नागरिकको सुरक्षाका लागि ज्येष्ठ नागरिक आवास गृह निर्माण तथा सञ्चालन, रोजगारीमूलक शिक्षा तथा सीप विकास एवं व्यावसायिक अवसर प्रदान गर्ने, स्वास्थ्य, सरसफाइ, पोषण तथा वातावरण संरक्षणसम्बन्धी शिक्षा, सचेतना तथा सेवा प्रदान गर्ने, बालबालिका, महिला, युवा र ज्येष्ठ नागरिकको अधिकार तथा कर्तव्यसम्बन्धी शिक्षा, सचेतना एवं शक्ति करण कार्यक्रम सञ्चालन गर्ने लगायतका उद्देश्य रहेको फाउन्डेसनले जनाएको छ । 
डा.अविनारायण घिमिरे, मालती आचार्य घिमिरे, त्रिलोचनप्रसाद न्यौपाने, यज्ञप्रसाद शर्मा, ऋषिकेश पोखरेल, पेशल कुमार न्यौपाने, तुलबहादुर श्रेष्ठ, नन्दी केशर भण्डारी, तीर्थेन्द्र न्यौपाने र दीपेन न्यौपाने प्रतिष्ठानको संस्थापक रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले फाउन्डेसनको उद्देश्य परिपूर्तिका लागि महानगरका तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मेयर कोइरालाले संस्था स्थापना  हुनुभन्दा त्यसलाई दीर्घकालसम्म सञ्चालन गर्नु ठुलो चुनौती भएको बताए । 
उपमेयर शिल्पा निराला कार्कीले फाउन्डेसनले विराटनगरको शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक, बालबालिकालगायतका क्षेत्रमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरिन् ।