विराटनगर : धरानका ४ जना र केराबारी मोरङका एक जना सहित प्रहरीले लागुऔषधको कारोबारमा ५ जना युवालाई पक्राउ गरेको १ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरान र मोरङ केराबारी गाउँपालिका बाट खटिएका प्रहरी टोलीले लागुऔषध सहित बिहीबार पक्राउ गरेको हो । 
धरानबाट पक्राउ पर्ने युवाहरूमा धरान-१५ का २६ वर्षीय लकि गुरुङ, ३२ वर्षीय कुश बहादुर भुजेल, धरान-२ का काम्मराज लिम्बु र धरान-४ का ३० वर्षीय सन्जु बिक छन् । उनीहरूलाई ७३ एम्पुल लुपिजेसिक, एभिल, फेनारगन र डाइजेपाम सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
यसैगरी केराबारी गाउँपालिका–१० बाट १९ वर्षीय गोरे भन्ने विनय मगरलाई पक्राउ गरिएको छ । मगरको कोठा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको फेनारगन, डाईजेल्याव, ब्रुफिन सहित ११ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले केराबारी र धरानमा उनीहरूलाई लागुऔषध सहित पक्राउ गरिएको हो ।