धरान : गएको संसदीय तथा प्रदेशको चुनावमा एउटै सिट नपाएका पहिचानवादी साना पार्टीहरू माथि एकीकरणको दबाब बढ्दै गएको छ । विशेषतः सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीमा यस्तो दबाब बढेको हो । जनता समाजवादी पार्टीले उक्त पार्टीसँग एकीकरणका लागि प्रस्ताव समेत गरिसकेको छ ।
दमकमा हिजो शुक्रवार ‘किरात लिम्बुवान नामाङ्कन अभियान’ नामक नयाँ मञ्चको घोषणा गरिएको छ । प्रदेश १ को नाम ‘किरात लिम्बुवान’ नामकरण अभियानको कार्यक्रममा सहभागीहरू हेर्दा यसको मुख्य उद्देश्य पार्टी एकीकरणको लागि दबाब बढाउने भएको बुझिन्छ ।
पछिल्लो समय एकीकरणको पक्षमा खुलेका कुमार लिङदेन 'मिराक' नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टी महासचिव पदम जबेगु, जसपा केन्द्रीय सदस्य, लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लावती सहितको उपस्थितिले त्यस्तो सङ्केत दिएको हो ।         
भेलामा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय उपाध्यक्ष ज्ञानु इम्बुङ, सङ्घीय लिम्बुवान पार्टीका उपाध्यक्ष मित्र लिङ्देन, लोसपा, लिम्बुवान अध्यक्ष भक्त खेवाङ, किरात राष्ट्रिय समिति संयोजक डिवि राई, माओवादी कम्युनिस्ट पार्टी नेपाल उपाध्यक्ष अर्जुन लामा, साझा किरात खम्बुवान् मोर्चा उपाध्यक्ष ललित प्रकाश राई, पूर्व लिम्बुवान मुक्ति मोर्चा अध्यक्ष पदम अधिकारी, प्रवीण चाम्लिङ, जयराज संयक, कोचिला सङ्घर्ष समितिका त्रिनारायण राजवंशी, तामाङ घेदुङका जयकुमार तामाङले नामकरण अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।
संयोजक प्रेमदीप थाम्सुहाङको सभापतित्वमा भएको उक्त भेलाले अभियानको ८ सूत्रीय उद्देश्य जारी गरेको छ । प्रदेश १ भित्र सबै जातजाति एवं समुदायहरू बिच एकता सामाजिक सद्भाव विकास गराउँदै प्रदेश १ को नामकरण ‘किरात लिम्बुवान प्रदेश’ गराउन मुख्य उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियानलाई सबै पहिचान पक्षधर, पार्टी, सङ्घ संस्था, एवं आम नागरिकको साझा आवाजको रूपमा विकास गरिने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘लिम्बुवान भन्नाले १८३१ श्रावण २२ गते लिम्बुवान र गोर्खा फौज (नेपाल) बिच भएको ऐतिहासिक सन्धि बमोजिमको भूगोल तथा लिम्बुवान प्रदेश प्राप्तिको लागि भएका सम्पूर्ण आन्दोलनरत पक्षहरूसँग नेपाल सरकारले गरेको सम्झौताको रूपमा बुझ्नुपर्दछ।’
limbuwan-ekata-PR