इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन सम्पन्न भएको छ । जनता बहुमुखी क्याम्पसमा शनिवार सम्पन्न मतदानमा २७९० व्यवसायीले मतदान गरेका थिए ।
४८१० मतदाता रहेको उद्योग वाणिज्य सङ्घ इटहरीमा यस पटक कम मत खसेको हो । निर्वाचन समितिका सदस्य पोषराज नेपालले दिएको जानकारी अनुसार आइतबार बिहान ९ बजेदेखि मतगणना गर्ने सहमति भएको छ । 
निक्कै चासोका साथ हेरिएको निर्वाचनको परिणाम आ-आफ्नो पक्षमा पार्ने उम्मेदवारहरूले प्रचारप्रसारलाई व्यापक बनाएका थिए । भीमबहादुर पौडेलको कार्यकाल सकिएपछि आगामी अध्यक्षको लागी ४ जना चुनावी मैदानमा छन् ।
पौडेलकै समर्थनमा जीवन पराजुली उम्मेदवार थिए । नेकपा एमालेबाट रन्जु सिग्देल (चौलागाईं) र नेपाली काँग्रेसको तर्फबाट गायत्री कटवाल (भण्डारी) चुनावी मैदानमा छन् ।
मणिन्द्रकुमार कटवालले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार पीताम्बर पोखरेलले भने पराजुलीलाई समर्थन गर्ने उद्घोष गरेका थिए ।
itahari-chember-election-1