धरान : सुनसरी-१ का निर्वाचित प्रदेश सभा सांसदद्वय रमेशकुमार बस्नेत र विजयकुमार राईले बुढासुब्बा गोल्डकप फुटबल धरानको प्रतिष्ठाको विषय भएकोले प्रतियोगिता आयोजनाका लागि सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबद्वारा आज शनिवार सांसद द्वयको सम्मानमा होटेल पूर्वी स्टारमा आयोजित समारोहमा सांसद द्वयले उक्त प्रतिबद्धता प्रकट गरेका हुन् । सांसद रमेशकुमार बस्नेतले भने ‘लामो समय देखी सीमित साधन र श्रोतमा निर्भर बुढासुब्बालाई स्थायित्व दिने कुरामा हामी सक्दो सहयोग गर्ने हाम्रो प्रतिबद्धता छ ।’

सांसद विजयकुमार राईले प्रदेश सरकारबाट आर्थिक सहयोग दिलाउने कुरामा कुनै कञ्जुसाई नगरिने प्रतिबद्धता जनाए । यसअघि प्रदेश सरकारबाट गोल्डकपको लागि छुट्याइएको रकम कोभिड महामारीका कारण ढिलाइ हुँदा पाउन नसकेको उल्लेख गर्दै क्लबका अध्यक्ष किशोर राईले ठुलो ऋणमा परेको दुखेसो पोखे । 

अध्यक्ष राईले भने ‘धरानको प्रतिष्ठा जोगाउन पनि ऋणको भारी र आयोजना खर्चको चुनौतीलाई सामना गर्दै प्रतियोगिता जसरी पनि आयोजना गर्न दिनरात एक नभनी लागेका छौँ ।’ यसपालि २३ औँ बुढासुब्बा गोल्डकप फागुन १३ देखी २० गते सम्म सञ्चालन हुने घोषणा गरिएको छ ।

सांसदद्वयको सम्मानमा आयोजित कार्यक्रममा ढिलै भए पनि सुनसरी-१ क र ख निर्वाचन क्षेत्रबाट विजयी भएकोमा बस्नेत र राईलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । क्लबका अध्यक्ष राई द्वारा सांसदद्वयलाई मायाको चिनो स्वरूप धरान फुटबल क्लबको ट्याक सुट प्रदान गरिएको हो । उक्त अवसरमा पूर्व राष्ट्रिय खेलाडीहरू, हाम्रो धरान भेट्रान क्लब, धरान भेट्रानका खेलाडीहरू र एन्फा सेन्टरका खेलाडीहरूको उपस्थिति थियो ।