धरान : तत्कालीन धरान नगर पञ्चायतको प्रधानपञ्च हुँदा पनि बम देवानले आफ्नै घर भएको टोलमा पक्की सडक बनाउन सकेका थिएनन् । धरान-१३ अमरहाटमा बसोबास सुरु भएको पाँच दशक पछि भित्री भागमा बल्ल पक्की सडक बनेको छ । त्यो पनि उपमहानगरपालिका, वडाबाट नभई प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास कार्यक्रमको बजेटबाट बनेको हो ।
पछिल्लो समय कविका रूपमा प्रसिद्ध बम देवानको घर सोही सडकमा पर्दछ । प्रदेश सरकारको लगानीमा बनेको पक्की आरसिसी ढलानको सडक आज आइतबार बिहान वडा १३ का अध्यक्ष नेत्र काफ्लेले एक समारोहका बिच उद्घाटन गरेका छन् । छोटो सडक भए पनि त्यसले अमरहाटको विकाशमा भित्री सडक गल्लीहरू पक्की बन्दै गएको उदाहरण कायम गरेको छ ।
पश्चिम तर्फको कमल चौकबाट उक्त बाटोले पत्रकार महासङ्घ, बम देवानको घर अघि हुँदै अमर सेवा समाजको बहुदेश्यिय भवन अघि मुख्य सडक जोड्छ । कुल लागत ९ लाख, ८३ हजार, १ सयमा बनेको सडकको लम्बाई २२ मिटर, चौडा ४ दशमलव ५ मिटर छ । यो भित्री बाटो ५० वर्ष देखी पक्की नहुँदा बाढी घरभित्र पस्ने खोल्सा जस्तै अवस्थामा थियो ।
अमरहाटमा उपेक्षित अवस्थामा रहेको उक्त बाटोको निर्माण नेपाल पत्रकार महासङ्घ सुनसरीको पहलमा भएको हो । महासङ्घले अमरहाटमा कार्यालय भवन निर्माण गरेपछि वडा कार्यालय र स्थानियबासीहरु सँग गरेको विकास कार्यमा सहकार्यको यो उदाहरण बनेको वडाध्यक्ष काफ्ले बताए । अमर सेवा समाजका अध्यक्ष भूमिराज लिम्बुले आउँदा दिनमा थप विकास कार्यमा महासङ्घको सहयोग प्राप्त हुने विश्वास प्रकट गरे । 
अमरहाटमा मानवीय बसोबासको विकास २०२८ साल देखी भएको हो । पूर्व प्रधानपञ्च समेत रहेका बम देवानका अनुसार त्यसबेला साप्ताहिक हाट बजार लगाउन भनी अमरहाट नामकरण गरी विजयपुरका साइला साहुले २ बिघा जग्गा निःशुल्क प्रदान गरेको थियो । त्यस बेला पुरानो चन्द्रपुर बजारमा शुक्रवार र शनिवार हटिया लाग्दथ्यो ।
उनका अनुसार हाटबजार नचलेपछि बसपार्क राख्ने छलफल चल्यो । बसपार्कले विकृति ल्याउने भन्दै स्थानीयले विरोध गरेपछि अमर हाटमा पार्क बनाउने प्रस्ताव पनि आयो । पछिल्लो समय खेलकुदको पूर्वाधार निर्माण गर्ने निर्णय भएपछि अमर सेवा समाजद्वारा पूर्वकै सबैभन्दा ठुलो खेलकुद भवन निर्माण भएको हो । सोही ठाउँमा पत्रकार महासङ्घ, कानुन व्यवसायी क्लब र प्रहरी चौकी पनि छ ।
हाल धरान बजारबाट चल्ने यातायातका सवारी एकतर्फी गरिँदा उत्तर तर्फबाट आउने सवारी साधनहरू अमरहाट पूर्व-पश्चिम हुँदै पुरानो बजारको बाटो बसपार्क सञ्चालन हुने भएको छ । त्यसको तयारीका लागि रेडक्रस चौक माथि ५० फिटको लागि सडक चौडा गरिदैंछ । एकतर्फी सवारी चल्दा अमरहाटमा बसस्टप कायम भए अमरहाटको चहल पहल थप बढ्ने सडक उद्घाटनको अवसरमा चर्चा भएको थियो । 
कार्यक्रममा सडकको बजेटका लागि पहल गरेकामा पूर्व मुख्यमन्त्री राजेन्द्र राईका राजनीतिक सल्लाहकार जीवनकुमार राईलाई सम्मान पत्र प्रदान गरिएको थियो । जीवन राई, स्थानीय अग्रज कमलबहादुर मेवाहाङ राई, पत्रकार महासङ्घका अध्यक्ष जनकऋषि राई, पूर्व अध्यक्षद्वय केशव घिमिरे, हर्ष सुब्बा, बम देवान लगायतले वडा १३ को विकासमा पत्रकार महासङ्घको सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए ।
amar-sadak-123