चितवन क्षेत्र नम्बर २ मा यही वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले उक्त निर्णय गरेको हो ।

'निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ,' आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसद पद गुमाएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 'नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको साथै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भएबमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो,' आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले उपनिर्वाचन सम्बन्धि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । जसअनुसार फागुन १ गतेदेखि चैत १६ सम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ ।

त्यस्तै, चैत २० मा उम्मेदवारी दर्ता हुनेछ भने २१ चैतमा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । त्यस्तै, चैत २२ मा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशत गर्ने गरी मिति तोकिएको छ । २३ चैतमा उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।