धरान : प्राध्यापक डा गोपालप्रसाद भण्डारीले पिण्डेश्वर विद्यापीठमा दिवङ्गत पिता भोग्यप्रसाद भण्डारी र माता ढककुमारी देवीको स्मृतिमा विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नका लागि ६५ हजार रुपैंयाको अक्षयकोष स्थापना गरेका छन् ।
विद्यापीठका प्राचार्य काशीनाथ पौडेल र दाता प्रा.डा.भण्डारी बिच गएको शुक्रवार अक्षयकोष सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएपछि उक्त रकम राष्ट्रिय वाणिज्य बैङ्कमा दाखिला गरिएको हो । उक्त कोषको व्याजबाट विद्यापीठका छात्र वा छात्रालाई वार्षिक रूपमा पुरस्कार प्रदान गरिने छ ।
पुरस्कारको नाम ‘प्राध्यापक भोग्यप्रसाद-ढककुमारीदेवी भण्डारी स्मृति पुरस्कार’ राखिएको छ । उक्त पुरस्कार शास्त्री तहको द्वितीय वर्षमा ऐच्छिक क वर्ग साहित्य विषयमा सर्वोत्कृष्ट अङ्क ल्याई नियमित रूपमा उत्तीर्ण हुन सफल छात्र वा छात्रलाई प्रदान गरिने छ । 
प्राडा.भण्डारीका पिता सहप्राध्यापक भोग्यप्रसाद भण्डारीले २०१३ देखी २०५० साल सम्म ३८ वर्ष पिण्डेश्वर विद्यापीठमा संस्कृत साहित्य विषयमा प्राध्यापन सेवा गरेका थिए । उनले सोही विद्यापीठमा प्राथमिक तहबाट २०२८ सालमा शास्त्री तह उत्तीर्ण गरेका थिए । त्रिविबाट २०३३ सालमा एमए उत्तीर्ण गरेपछि उनी प्राध्यापन सेवामा प्रवेश गरेका थिए ।