धरान : धरानका दुई जना युवा पिकअप गाडीमा ठुलो परिमाणमा गाँजा लिएर गईरहेको बेला हिजो आइतबार साढे १० बजे राती सुनसरीको देवानगञ्जमा प्रहरीद्वारा पक्राउ परेका छन ।

सुनसरी जिल्ला प्रहरी कार्यालयले आज सोमवार दिएको जानकारी अनुसार पक्राउ पर्नेमा गाडी चालक धरान-१६ का २७ वर्षीय पूर्णबहादुर राई र सहचालक विजय राई छन् ।

प्रहरी अनुसार रातको समय राजगञ्ज सिनवारी कप्तानगञ्जको भित्री सडक खण्ड देवानगञ्ज-६ मा गइरहेको को १ ज १६६१ नम्बरको पिकअप गाडी रोकेर चेकजाँच गर्दा अम्रिसाको कुचो भित्र धेरै परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको हो । उक्त सडक भारतीय सीमा नाका जाने बाटोमा जोडिन्छ ।

बरामद गाँजाको परिमाण ७ बोरामा कुल ३ सय ५० केजी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको पिकअप गाडी, गाँजा सहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको बताइएको छ।