धरान : गएको चुनावमा नेपाली काँग्रेस भित्रैबाट काँग्रेसको उम्मेदवारलाई हराउन अन्तर्घात गर्नेहरू भनी किटान गर्न काँग्रेसको सुनसरी क्षेत्र नम्बर १ ले छानबिन समिति गठन गरेको छ। समितिले गएको स्थानिय चुनाव र प्रदेश तथा सङ्घीय संसदीय चुनावमा काँग्रेस उम्मेदवारलाई हराउन पार्टी भित्रै अन्तर्घात गर्नेहरूबारे छानबिन गर्नेछ ।
धरान उपमहानगरपालिकाको मेयरको चुनावमा काँग्रेस र माओवादीको गठबन्धन भएकोमा माओवादीका आइन्द्रविक्रम बेघाले चुनाव जितेका हुन । काङ्ग्रेसबाट मेयरका उम्मेदवार रहेका किशोर राईले चुनाव हारेका थिए । गठबन्धनकै आधारमा प्रदेश सभा चुनावमा प्रदेश सांसद सुनसरी-१ (क)मा उम्मेदवारी दिएका काँग्रेसका उमेश थापा पराजित भएका थिए ।
दुवै चुनावमा गुटबन्दीग्रस्त काँग्रेस भित्रैबाट अन्तर्घात भएकाले पार्टी उम्मेदवार पराजित भएको काँग्रेस वृत्तमा चर्चाको विषय बन्दै आएको छ । चुनाव पछि निर्वाचन परिणाम बारे समीक्षा कार्यक्रमहरू पनि भए । सोही आधारमा काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिले छानबिन समिति गठन गरेको क्षेत्रीय सचिव केशव पुरीले बताएका छन् ।
समितिको संयोजकमा क्षेत्रीय उपसभापति तथा प्रदेश सभा सुनसरी-१ (क)का सभापति अनिल श्रेष्ठ रहेका छन् । सदस्यहरूमा प्रदेश सभा (क)का सचिव युवराज शङ्कर, प्रदेश सभा (ख)का सचिव विजय घिमिरे, धरान नगर सचिव जितेन्द्र राई, वराहक्षेत्र नगर सचिव हरिकृष्ण भट्टराई, रामधुनी नगर सहसचिव सरल कटवाल तथा सदस्य सचिवमा क्षेत्रीय सचिव सुमित राई रहेका छन् ।
समितिले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग, अन्तर्घात गर्नेहरूको पहिचान गर्ने बताइएको छ । समितिको गठन त्यस्ता नेता तथा कार्यकर्तालाई अनुशासनको कारबाही प्रक्रिया अघि बढाउन गठन गरिएको बताइएको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले छानबिन समिति गठन गरेको हो ।  
उक्त बैठकमा प्रदेश सभा सांसद ममता तामाङ, जिल्ला सचिव माधव घिसिङ, प्रदेश सभा (ख)का सभापति मुरारी भट्टराई, जिल्ला सदस्यहरू प्रदीप बस्नेत, अनुपम सुनुवार सहित उपस्थित थिए ।