काठमाडौँ : नेकपा एमालेनिकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा सुनसरीबाट अध्यक्षमा दावेदारी पेस भएको छ । फागुन २ बाट सुरु भएको महाधिवेशनमा हिजो सुनसरीका लोकेश निरौलाले अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।
अध्यक्ष सँगै अनेरास्ववियु सुनसरीकै पूर्व उपाध्यक्ष एकराज दाहालले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । हिजो सुरु भएको बन्द सत्रमा सुनसरी तिन जनाले समेत सचिवको लागी मनोनयन दर्ता गरेका छन् ।
अध्यक्ष र उपाध्यक्षमा सुनसरीका क्रमशः लोकेश निरौला र एकराज दाहालले मनोनयन दर्ता गराउँदा सचिवमा भने तीन जनाले मनोनयन दर्ता गराएका हुन् । सचिवमा क्रमशः सुनसरीका अन्जु पाण्डे (इटहरी), आरती भट्टराई(वराहक्षेत्र) र टीका सुवेदी (वराहक्षेत्र) ले मनोनयन दर्ता गराएका हुन् ।
त्यसै गरी स्थायी कमिटीमा समेत सुनसरीबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । मोनालिसा श्रेष्ठ (धरान), रमेश विष्ट (वराहक्षेत्र) र मणि राई (धरान) ले स्थायी कमिटी सदस्यमा मनोनयन दर्ता गराएका हुन् ।
केन्द्रीय सदस्यमा भने सुनसरीबाट चार जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरूमा रोशन रेग्मी (इटहरी), सौरभ सन्जेल (धरान), दिपा चेम्जोङ (धरान) र रोशन भट्टराई (धरान) ले उम्मेदवारी दिएका हुन् ।
बन्द सत्र सञ्चालनका लागि एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको अध्यक्षमा नौ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ। महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्नेछ। 
महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन् । अध्यक्षको नेतृत्वका लागि सुनसरीका लोकेश निरौला सहित आरसी लामिछाने, समिक बडाल, वान्छु योन्जन र मोती विकले दावेदारी प्रस्तुत गरेका छन् ।