धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने वृद्धवृद्धा ज्येष्ठ नागरिकहरूले अन्य चेकजाँच गर्न आउनेहरूकै लाइनमा लामो समय पालो पर्खन नपरोस् भनी नयाँ व्यवस्था गरेको जनाएको छ ।
प्रतिष्ठानकी प्रवक्ता डा.अञ्जु प्रधानले जारी गरेको एक विज्ञप्तिमा ज्येष्ठ नागरिकलाई लक्षित गरी बिपीको इन्टरनल मेडिसिन विभागले दिँदै आएको विशेष सेवा हप्ताको एक दिन जेरिएट्रीक क्लिनिक सञ्चालन गरिएको बताइएको छ । फागुन १ गते देखी सुरु भएको यो सेवा हप्ताको हरेका बिहीबार बिना १० बजे देखी १ बजे सम्म खुला रहने छ ।
विज्ञप्तिमा भनिएको छ ‘क्लिनिक ज्येष्ठ नागरिकहरूलाई उमेरका कारणले हुने आन्तरिक कमजोरी साथै शारीरिक तथा मानसिक समस्याहरू जस्तै निन्द्रा नलाग्ने, खाना नरुच्ने, थकान महसुस हुने आदि तथा दुई वा सो भन्दा बढी रोगहरू भएकाहरूलाई उपचार गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो ।’ सेवाबाट ज्येष्ठ नागरिक मैत्री स्वास्थ्य प्रणालीको विकासलाई सहयोग पुग्ने विश्वास गरिएको छ । क्लिनिकमा डा.ऊर्जा भट्टराईले विशेषज्ञ चिकित्सक रहने जनाइएको छ । 
एउटै बिरामीलाई लामो समय लगाएर चेकजाँच गरिने भएकाले हाल एक पटकमा १५ जना बिरामी मात्र हेरिने बताइएको छ । भट्टराई अल इण्डिया मेडिकल इन्स्टिच्युटबाट जेरिएट्रिक मेडिसिनमा स्नातकोत्तर गरेकी डाक्टर हुन् । उक्त विषयको नेपालमा महिला चिकित्सक हुन् । यस किसिमका रोगहरूका उपचारका लागि छुट्टै क्लिनिक नेपालमा पहिलो पटक बिपीमा सुरु गरिएको बताइएको छ ।
बृद्धबृद्धा बिरामीहरूका लागि यसको उपयोगिता कति लाभदायक हुनसक्छ समयले बताउला तथापि बिपीले अन्य बिरामीहरूका लागि पनि थप नयाँ क्लिनिक सुरु गरेको क्लिनिकले विशेषतः ओपिडीमा दैनिक लाग्ने ठुलो भिडमा लामो समय पालो कुर्नुपर्ने सकसलाई राहत दिने निश्चित छ । 
बिपीमा हप्ताको एक दिन सुरु गरिएको नयाँ क्लिनिकहरूमा गर्भवती महिलाहरूमा देखा पर्ने मधुमेह र थायराईडको असन्तुलन जस्ता स्वास्थ्य समस्याहरूको उपचारका प्रगनेन्सी एण्ड डाइबेटिज एण्ड थाइराइड क्लिनिक हरेक बुधवार सञ्चालन सुरु गरिएको छ । यो क्लिनिकमा विशेषज्ञ चिकित्सक डा.रबिन मास्के रहेका छन् ।  
त्यसैगरी, महिनाको पहिलो बिहीबार स्ट्रोक क्लिनिक, दोस्रो बिहीबार हेडेक क्लिनिक तेस्रो बिहीबार इपिलेप्सी क्लिनिक तथा चौथो बिहीबार पर्किसन्स डिजिज एण्ड मुभमेन्ट हिसओडर क्लिनिक समेत चार प्रकारका विशेष सेवाहरू सञ्चालनमा ल्याएको जनाइएको छ । उक्त क्लिनिकहरूमा बिपीका स्ट्रोक टिम  प्रमुख डा.भूपेन्द्र शाह रहेका छन् । 
मस्तिष्कघात भएर शरीरको एक पाटो नचल्ने, अत्यधिक टाउको दुखेर छटपटाउने, छारे रोगले बेला बेला मुर्छित पर्ने, पार्किन्सन्स रोग लागेर हिँडडुल गर्न, बोल्न, एकै ठाउँ बसिरहन असहज हुने जस्ता अवस्थाका बिरामीहरूको छुट्टै विशेष उपचारका लागि क्लिनिक सञ्चालन गरिएको हो ।
यस्ता रोगीहरू ओपिडीमा आउँदा वा फलोअपमा आउँदा अन्य बिरामीहरूको भिडका कारण घण्टौँ लाइनमा बस्न असहज तथा कठिनाइ हुने कुरालाई महसुस गरी छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको हो । उक्त ओपिडीहरू बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म खुला रहने जनाइएको छ ।
DR.urja-bhattarai