विराटनगर : द आर्ट अफ लिभिङ विराटनगरले नेपालमै पहिलो पटक आफ्नै भवन निर्माण गरेको छ ।विराटनगर-५ को कोसी बहिरा मावि नजिक डेढ कट्ठा क्षेत्रफलमा भवन निर्माण गरेको हो ।
१ करोड ३० लाख लागतमा निर्माण सम्पन्न भएको भवनको आगामी शनिवार महाशिवरात्रिको अवसरमा पारेर उद्घाटन गरिँदै छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, द आर्ट अफ लिभिङ फाउन्डेसनका केन्द्रीय अध्यक्ष एसके सिंह र भारत बैंङलोर आश्रमका स्वामी पूर्ण तेजले संयुक्त रूपमा भवन उद्घाटन गर्ने कार्यक्रम रहेको विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 
सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने विभिन्न दाताहरूलाई सम्मान पत्रद्वारा सम्मानित गर्ने कार्यक्रम रहेको द आर्ट अफ लिभिङ विराटनगरका संयोजक शेरबहादुर श्रेष्ठले जानकारी दिए । भवन उद्घाटनसँगै महाशिवरात्रिको अवसरमा महारुद्र पूजा भवन परिसरमा आयोजना गरिएको उनले बताए । 
पूजामा स्वामी पूर्ण तेजको उपस्थिति रहने श्रेष्ठले बताए । द आर्ट अफ लिभिङले सामाजिक क्षेत्रका विभिन्न कार्यहरू पनि गर्दै आइरहेको छ । विशेषगरि बाढी पहिरो, आगलागी, शितलहर लगायतका कारणबाट पीडित भएकाहरूलाई सहयोग गर्दै आएका श्रेष्ठले बताए । आर्ट अफ लिभिङको कोर्ष पुरा गरेका ५ हजार बढी सदस्य विराटनगरमा रहेको उनको भनाई छ । 
द आर्ट अफ लिभिङ फाउण्डेशन एक गैरनाफामूलक शैक्षिक र मानवतावादी गैर सरकारी संस्था हो । यसको शाखा १८० देशहरूमा रहेको छन् । रविशंकरद्वारा सन् १९८१ मा संस्थापित द आर्ट अफ लिभिङ स्वयंसेवी संस्था हो ।