धरान : अल्फाबिटा प्रदेश १ स्तरिय अन्तर कलेज बास्केटबल प्रतियोगीताको आज शुक्रवार भएको उद्घाटन खेलमा मेघा हिमालयन, सियोन स्कुलले अग्रता हासिल गरेको छ ।

धरान मेघा हिमालयन कलेजले एम्स नेशनल कलेजलाई ३५–३२ र महिला तर्फ सियोन स्कुलले डिपो स्कुललाई ३३–० अंकले पराजित गरेको छ । धरान मेघा र एम्स कलेज विच भएको प्रतिश्पर्धाम्क खेलमा मेघा र एम्सले प्रत्येक क्वाटरमा ४–८, १३–८, १२–८ र ६–८ अंक जोडेको थियो । यसैगरी दोस्रो खेलमा सहज रुपमा विजयी भएको सियोन स्कुलले प्रत्येक क्वाटरमा ९, १०, ४ र १० अंक जोडेको थियो । डिपो स्कुलले भने कुनै अंक जोड्न सकेन ।

यसअघि प्रदेश १ प्रदेश सभा सांसद विजयकुमार राई एक समारोहका विच प्रतियोगीताको उद्घाटन गरेका थिए । उनले रंगशाला स्थित खेलकुद भवन कभर्ढ हलको स्तरोन्नतीका लागि सांसद कोषबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतियोगीता सोही कभर्ड हलमा चलिरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद सदस्य रहिसकेका सांसद राईले सुनसरी जिल्लामा बास्केटबल संघ क्रियाशील रहेको पाइएको बताउँदै अन्य जिल्लामा बस्केटबल खेलको गतिविधि धरानमा जस्तो नपाइएको उल्लेख गरे । धरान बास्केटवल संघको आयोजन, धरान उपमहानगरपालिकाको संयोजनमा शुरु भएको प्रतियोगीता अल्फाबिटा कोयला एजुकेशन कन्सल्टेन्सीले प्रयोजनमा सञ्चालन भएको हो ।

अन्तर कलेज बास्केटवलको दोस्रो संस्करण यसपाली देखि आयोजकले पहिलो पटक प्रवेश शुल्क लिन सुरु गरेको छ । सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले बास्केटवल खेललाई व्यवसायीक वनाउन शुरुआतको रुपमा थोरै शुल्क लगाइएको बताए ।

उद्घाटन कार्यक्रममा बास्केटवल संघले धरान-१७ रत्नचोक निवासी दिवंगत कुलवहादुर सेनेहाङ लिम्वु जुगे मामालाई सम्मान गरेको छ । पुर्व व्रिटिस गोर्खा सैनिक उनले प्रदेश १ मा बास्केटवल खेलको विकासमा अतुलनिय योगदान पु¥याएको मुल्यांक गर्दै मरणोपरान्त सम्मान गरिएका हो ।

जुंगे मामाको योगदानको बारेमा बास्केटलका प्रदेश १ का मुख्य प्रशिक्षक, प्रतियोगिता संयोजक विकास चाम्लिङ राईले जानकारी गराए । उनको आफन्त विदेशमा रहेकाले सम्मानपत्र धरान १८ वडाध्यक्ष प्रविण राईलाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ्ग पाथिभरा याङ्वरक-४ मा जन्मिएका लिम्बुको ७१ वर्षको उमेर २०७६ फागुन ७ गते धरानमा निधन भएको थियो ।

प्रतियोगितामा प्रदेश १ भरिका पुरुष तर्फ १२ टिम र महिला तर्फ ६ टिम सहभागी छन् । प्रतियोगिताका छात्र तर्फका विजेतालाई नगद ३० हजार, उपविजेतालाई नगद १५ हजार ट्रफी, मेडल प्रदान गरिने छ । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । शनिवार महिला तर्फ युएन र धरान मेघा र पुरुष तर्फ सिटि कलेज र डिपो कलेज, इन्जिनियर कलेज र विकेविएम विराटनगर, केन्द्रिय प्रविधि क्याम्पस हातिसार र राष्ट्रिय जनसहयोग इटहरि विच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको फाइनल खेल अघि गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलको प्रायोजनमा  प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ । विजेताले जनहि नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।