धरान : ह्योइल लो (ग्याल्पो) ल्होसारको २१५० को अवसरमा धरानमा हिमाली सिङशावा भोटिया समाजले शुभकामना अदानप्रदान कार्यक्रम आयोजना गरेको छ । 
शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा गुम्बा निर्माणमा सहयोग र पहल गर्ने व्यक्तित्वलाई सम्मान गरिएको छ । 
सम्मानित हुनेहरूमा प्रदेश १ की निवर्तमान सांसद उमिता बराइली, धरान १५ का वडाध्यक्ष नरेश इवारम, धरान ३ का वडाध्यक्ष विद्या शाक्य, व्यावसायी श्याम सोनी, समाजसेवी महेश लिङ्देन छन् । समाजका अध्यक्ष बम्बु भोटेले सम्मानितहरूलाई सम्मानपत्र र खादा प्रदान गरे । 
गुम्बा निर्माणका लागि निवर्तमान सांसद उमिता बराइलीको पहलमा प्रदेश १ सरकारले ५ लाख रुपैयाँ विनियोजन गरेको छ भने निवर्तमान सांसद जयकुमार राईको पहलमा सङ्घीय सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ । धरानका उपमेयर अइन्द्रविक्रम बेघाको पहलमा सङ्घीय पर्यटन मन्त्रालयबाट ३० लाख रुपैयाँ विनियोजन भएको गुम्बाका उपाध्यक्ष मिङ्मा भोटेले जानकारी दिए । 
श्री हिमाली सिङ्सावा भोटिया समाज गुम्बा धरान १५ स्थित बगरकोटमा रहेको छ । २०७२ मा स्थापना भएको गुम्बाको ६५ प्रतिशत काम सम्पन्न भएको छ । स्थानीय समाजसेवीहरूको समेत आर्थिक सहयोग रहेको गुम्बालाई धरान उपमहानगरपालिकाले समेत बजेट विनियोजन गर्ने उपमेयर बेघाले प्रतिबद्धता जनाएका छन् । 
धरान उपमहानगरपालिकामा हाल हिमाली सिङशावा भोटियाको जनसङ्ख्या २ सय ५० रहेको तथ्याङ्क छ । 
सांस्कृतिक विविधता रहेको यो जाति अल्पसङ्ख्यक समुदायमा पर्छ । धरानमा यो जातिले ग्याल्पो ल्होसारसँगै  बुद्ध जयन्ती, स्याप्र नृत्यलगायतका पर्वहरू धूमधामका साथ मनाउँदै आएका छन् ।
losar-subhakamana-2079