विराटनगर : प्रहरी सेवामा चुस्त दुरुस्तताको लागि भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने कुरा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्घाटन समारोहमा उनले भने ‘भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरूमा प्रत्यक्ष असर पर्न सक्छ ।’
सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउने हुँदा उनीहरूको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको बताउँदै मुख्यमन्त्री कार्कीले भने ‘सुविधा सम्पन्न भवन प्राप्त भए सँगै नागरिक सेवा विगतका दिनहरू भन्दा प्रभावकारी ढङ्गले अघि बढाउन योगदान गर्ने विश्वास गरेका छौँ ।’ 
मुख्यमन्त्री कार्कीले नवनिर्मित भवनमा रहेको शिलालेख अनावरण गरी भवनको उद्घाटन गरेका हुन् । उक्त अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताए । प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवन सँगै कार्यरत प्रहरी कर्मचारीहरूमा थप मनोबल उच्च हुने बताउँदै भने ‘प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकको सुरक्षा सेवा समयानुसार स्तरीय हुँदै जानेछ ।’
प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले भौतिक सुविधाले कार्यक्षेत्रमा अनुकूल वातावरण सिर्जना गर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै थप जोस र ऊर्जाका साथ प्रहरी काम कारबाहीमा प्रेरणा मिलेको बताए ।
सोही अवसरमा मुख्य मन्त्री कार्कीले भवन निर्माणमा उल्लेखनीय योगदान पु¥याएका निर्माण कम्पनी र प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरी, महेश भट्टराईलाई प्रशंसा पत्र प्रदान गरेका थिए । प्रदेश प्रहरीका उपरीक्षक अनिल रानाले भवन निर्माणको प्रतिवेदन प्रस्तुत गरे ।
प्रतिवेदन अनुसार प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित कुल बजेट १९ करोड १४ लाख ०१ हजार ६६३ रुपैयाँको लागतमा ७५ वटा कोठा भएको ५ तले कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।