झापा : झापाको दमकमा नवौँ दमक फुड फेस्टिभल २०७९ सुरु भएको छ ।

होटेल व्यवसायी सङ्घ दमकले हरेक वर्ष गर्दै आएको फेस्टिभलकै निरन्तरता स्वरूप यो पटक पनि आज एक औपचारिक कार्यक्रम गरी फुड फेस्टिभलको सुरुवात गरिएको हो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो ।

त्यस अघि दमकको गोर्खा डिपार्टमेन्ट स्टोर अगाडीबाट कलश यात्रासहितको र्‍यालीको आयोजना गरिएको थियो । र्‍याली दमकको गणतन्त्र चोक हुँदै फुड फेस्टिभल आयोजनास्थल दमक ७ स्थित पशु हाटमा पुगेर कार्यक्रममा सहभागी भएको थियो ।

आज देखी सुरु फुड फेस्टिभल १९ गते सम्म आयोजना गरिने होटेल व्यवसायी सङ्घ दमकका महासचिव तथा नवौँ फुड फेस्टिभल २०७९ का संयोजक भूपेन्द्र न्यौपानेले जानकारी दिए । उनकाअनुसार दमकलाई अर्ग्यानिक हब बनाउने र दमकको मौलिक खानाको प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

नौ दिन सम्म चल्ने फुड फेस्टिभलमा विभिन्न कलाकारहरूको उपस्थिति रहने छ । फुड फेस्टिभलमा कलाकारहरू एलिना चौहान, अस्मिता अधिकारी, ज्योति मगर, सुगम पोखरेल, रचना रिमाल, त्रिशाला गुरुङ, मेलिना राई र महेश काफ्लेको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रवेश गर्न एक सय रुपैयाँको प्रवेश पास खरिद गर्नु पर्ने छ । महोत्सव न्यूनतम ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।