धरान : धरानमा अणुव्रतका अनुयायीहरूले मङ्गलवार अणुव्रत स्थापना दिवसको हीरक जयन्ती महोत्सव मनाएका छन् । मारवाडी समुदायमा अणुव्रतमा विश्वास राख्दछन् । बर्सेनि मनाइने अणुव्रत स्थापना दिवस यसपालि स्थापनाको ७६ औँ वर्षमा लागेको हीरक जयन्तीको अवसरमा अमृत महोत्सवका रूपमा उनीहरूले मनाएका हुन् । 
उक्त अवसरमा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले धरान बहुभाषिक, बहुजाति, बहुधार्मिक, बहुमिश्रित तथा बहुसाँकृतिक केन्द्र भएको बताउँदै भने ‘अणुव्रतको सन्देश सबै धार्मिक, सांस्कृतिक समुदायको सामाजिक जीवनका लागि उपयोगी रहेको छ ।’
महोत्सवमा संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पुरुषेत्तम भट्टराई, डा.आनन्दप्रसाद आचार्य, डा. भरत भट्टराईको विशेष उपस्थिति थियो। अणुव्रत समिति धरानको आयोजनामा भएको महोत्सवको सभापतित्व संस्थाका अध्यक्ष मोनिका देवी दुगडले गरेकी थिइन् । 
संयोजक पितरुमल अग्रवालले दुव्र्यशनमा फसेका व्यक्तिहरूलाई कसरी उद्धार गर्न सकिने विषयमा धारणा राखेका थिए । उनले मारवाडी समुदायमा वृद्ध वृद्धा, बालबालिकाको सेवा लगायत सामाजिक परम्पराका बारेमा प्रकाश परेका थिए । 
महोत्सवको सञ्चालन मारवाडी समुदायका महिलाहरूबाट हिन्दी भाषामा गरिएको थियो। हीरक जयन्तीको अवसरमा सामाजिक आचार संहिताको रूपमा हरिया बोटबिरुवाहरू काट्नु हुँदैन मुख्य सन्देश प्रवाह गर्ने उद्देश्य रहेको बताइएको छ ।
पानी, बिजुली पनि खेरजान दिनुहुँदैन, मादक तथा नशालु पदार्थहरू मदिरा, सुर्ती आदि सेवन गर्न नहुने, सन्देश नाटक प्रदर्शनी मार्फत दिइएको थियो । सोही अवसरमा साना नानीहरूले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा भएको थियो।