धरान : धरानका २ जना युवा र वराहक्षेत्रका १ सहित तीन जनालाई चोरीको मोटरसाइकल नम्बर प्लेट फेरेर चलाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान-४ का २८ वर्षीय विश्वराज राई, धरान-१३ का २३ वर्षीय रतिस श्रेष्ठ र वराहक्षेत्र-१ का ३४ वर्षीय सजन श्रेष्ठ छन् ।
१ नं प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनीहरूलाई धरान-११ का सुरज तामाङको प्रदेश १-०२-०४० प २८१८ नम्बरको मोटरसाइकलको नम्बर प्लेटलाई को ३८ प ८०६५ लेखि चलाई रहेको अवस्थामा पक्राउ गरिएको हो ।
तामाङको मोटरसाइकल गत माघ ६ गते घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको थियो । वराहक्षेत्र नगरपालिकाको नडहा स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा चोरी भएको मोटरसाइकल भएको पत्ता लागेपछि सवारी सहित उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। 
पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।